कांग्रेस सभापति देउवा र माओबादी केन्द्रका अध्यक्ष प्रचण्डबीच बुढानिलकण्ठमा घण्टौ छलफल


काठमाडौं । नयाँ राजनीतिक कोर्षमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच एक घण्टा छलफल भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेपछिको राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रचण्ड देउवा निवास बुढानिलकण्ठ पुगेका हुन् । छलफलका क्रममा विपक्षी गठबन्धनका सबै दलबीच सरकार गठनबारे कुराकानी गर्ने सहमति भएको कांग्रेस स्रोतले जनाएको छ ।
देउवाले आज बिहान नै विपक्षी दलहरु बीचको बैठक राखेका थिए । तर जसपाको आन्तरिक विवादका कारण बैठक स्थगित गरिएको थियो । माओवादी केन्द्रले भने कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न अग्रसरता देखाइसकेको छ ।
कांग्रेसले पनि आन्तरिक तयारी तीव्र पारेको छ । तर जसपाको साथ बिना सरकार बन्ने अवस्था भने छैन । सोही विषयमा दुई नेता बीच रणनीति बनाएर अघि बढ्ने र त्यसका लागि सक्रिय हुने सहमति भएको हो ।
देउवाले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समेत फोन गरेर संवादका लागि बोलाएका छन् । कांग्रेसले अहिले आफ्ना पदाधिकारीहरूसँग पनि नयाँ सरकार गठनबारे छलफल गर्दै छ ।























