आज मात्र नेपालमा कोभिड संक्रमितबाट एकै दिन १३९ जनाको मृत्यु


काठमाडौ । नेपालमा पहिलो पटक एकै दिन झण्डै डेढ सय कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै एकै दिन थप ९ हजार २७१ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टी भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन परीक्षणका क्रममा सोमबार थप ९ हजार २ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो । मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट १७ हजार ६ सय ३२ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो । यस्तै, ७८८ जनाको एन्टिजेन परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा १३९ जनाको मृत्यु भएको देखिएको हो ।
यस सँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ८५९ पुगेको छ ।























