मधेश प्रदेश

वीरगञ्जबाट १९ राउण्ड गोलीसहित भारतीय नागरिक पक्राउ

नवलपुर टुडे
२०८० साउन ८ | मध्यान्ह ०२:०४ बजे

वीरगञ्ज । प्रहरीले वीरगञ्जबाट १९ राउण्ड गोलीसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार पश्चिम चम्पारणका २२ वर्षीय मुरारी कुमार रहेका छन्। आइतबार राति वीरगञ्ज महानगरपालिका–८ भानुचोकमा बसपार्कबाट खटिएको प्रहरी टोलीले मुरारीलाई चेकजाँच गर्दा उनी भागेका थिए। भागेका उनलाई जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय बिर्ता र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुक्त टोलीले प्रभु अस्पतालनजिकैबाट पक्राउ गरेको थियो।

मुरारीले बोकेको झोलाबाट शर्टगनमा प्रयोग हुने १९ राउण्ड गोली बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक कोमल शाहले जानकारी दिए।‘बसपार्कमा सामान चेकजाँच गर्नेक्रममा उहाँ भाग्नुभएको थियो। त्यही क्रममा पक्राउ गर्दा गोली भेटिएको हो,’ उनले भने। पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कमेन्टहरु