प्रादेशिक अस्पताल लहानमा एन्टिरेबिज भ्याक्सिनको अभाव


सिरहा । प्रादेशिक अस्पताल लहानमा एन्टिरेबिज भ्याक्सिनको चरम अभाव देखिएको छ । ८ दिनदेखि बिरामीहरू रित्तै घर फर्किरहेका छन्। एन्टी रेबिज भ्याक्सिन सरकारी अस्पतालमा निःशुल्क पाउने हो।
तर, यहाँ नपाएपछि बिरामीहरू महंगोमा निजीमा पनि किनेर लगाउन बाध्य भएको छ। निजी पसल तथा क्लिनिकले एउटा भ्याक्सिनको २ हजारसम्म लिने गरेको बुझिएको छ। प्रदेशबाट आपूर्ति हुन नसक्दा समस्या भएको अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट डा. सुनील कुमार कुहवाहाले बताए।
‘दैनिक रूपमा १५/२० जना बिरामी आउँछ। भ्याक्सिन छैन। के गर्नु ? आफैले खरिद गर्न मिल्दैन प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रसँग माग गरेका छौँ,’उनले भने,‘आएपछि बिरामीलाई उपलब्ध गराउँछौँ।’ प्रदेशले चाडै औषधि पठाउने आश्वासन दिएको उनले सुनाए।
भ्याक्सिन लगाउन २ सय भन्दा बढी बिरामी रहेको अस्पतालले जनाएको छ। ‘लक्षण अनुसार ३ देखि ५ डोजसम्म लगाउनुपर्छ। कसैको एक त कसैको दुई डोज लागेको छ,’कुशवाहाले भने,‘छिटै आपूर्ति भए। बिरामीले सहयोग पुग्छ।’























