विचार/ब्लग

राँगा भैंसीको अन्तिम यात्रा काठमाडौसम्मको कारुणिक कथा (एक पटक अबश्य बढौँ र शेयर गरौं)

नवलपुर टुडे
२०८० असार १२ | बिहान १०:०३ बजे

बुटवल । हामी सुदुरपश्चिमदेखि काठमाडौ जाँदैछौँ । यति लामो १८ देखि २० घण्टाको बाटोमा बिना पानी, बिना खाना, बिना आराम, बिना निन्द्रा हामी काठमाडौ पुग्नेछौ । बस्न खोजे हाम्रो पुच्छर चुँडिनेछ । हल्लिन खोजे नाकको नाथ्री च्यातिनेछ। हाम्रो आँशु, क्रन्दन, चित्कार कसैले देख्ने र सुन्ने छैनन् । हामीलाई कसैले गुहार दिने छैनन् । किनकी हामी पशु हौ । यहाँ बाँच्न त मानिसलाई मात्र पर्छ । दुखाई त मानिसलाई मात्र हुन्छ ।

कथित उच्च चेतित भनिने मानिसकै बुझाईमा यो मानव निर्मित नर्क हो । हाम्रा यी पीडा र यातना बिना मनुष्यको जिब्रोको तलतल र भुँडीको भोक मेटिँदैन । हामीले जवानी भरी मानिसलाई दुध खुवाएर तिनका छोराछोरी हुर्कायौं । हाम्रा कल्चौडोबाट निस्किने सेता रगत निचोरेर तिनले आफ्नो रगत बढाए । त्यही बेचेर परिवारको ढुकुटी बढाए । जवानी सक्किएपछि हामी बेकम्मा भई बिक्रि भयौं । हामी काठमाडौ घुम्न किनमेल गर्न, जागीर खान, वा पढ्न जान लागेका होइनौं । हामी काठमाडौ आफुले नगरेको अपराधको मृत्युदण्ड ग्रहण गर्न अन्तिम यात्रामा जाँदैछौं ।

आफ्ना परिवारको माया लाग्छ । आफुलाई पाल्ने र चुट्की दाम पैसाका लागि हाम्रो प्राण बेच्ने परिवारको पनि मुटु चुँडाउने माया छ । तपाईहरुले यो पोष्ट पढ्न पाउन्जेल हामी स्वादका दास मनुष्यका जिब्रो घाँटी भिजाउँदै पेटसम्म पुगेर बाहिर निस्की माटोपानीमा मिलिसकेका हुनेछौं । हामी मानिसलाई हाम्रा देउताका रूपमा देख्न चाहन्थ्यौं । तर, स्वादका कुलतमा उत्रिनै कठीन हुनेगरी केही चोक्टाको लालचमा फँसेकोमा मानिस तिमिहरुलाई धन्य छ । कथा कथानै हो अन्यथा नसोचौं ।

कमेन्टहरु