अबहुने उपनिर्वाचनमा क-कसले भोट हाल्न पाउने ?


बैशाख १७ काठमाडौं।
निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदाताको अन्तिम नामावली स्वीकृत गरेको छ। बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यका लागि उपनिर्वाचन हुँदै छ। उपनिर्वाचनका लागि प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ गरी ३४८ मतदाता कामय भएको छ।
आयोगका अनुसार, स्वीकृत भएको मतदाता नामावली यही वैशाख २१ गते बिहान ११ बजे निर्वाचन अधिकृतको कार्यालय, हेटौंडामा प्रकाशन गर्ने र प्रकाशित मतदाता नामावलीमा सोही दिनको बिहान ११ बजेदेखि बेलुकी ५ बजेसम्म नाम समावेश हुन छुटेका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने व्यवस्था गरिएको छ।
मतदाता नामावलीमा नाम समावेश भएको व्यक्तिले आफ्नो नाम, थर, उमेर, पद आदि विवरण सच्याउन दरखास्त दिने, मतदाता नामावलीमा उल्लिखित मतदाताको विरोधमा उजूरी दिनसकिने छ।
बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पाँच राजनीतिक दलले भाग लिने भएका छन्। उपनिर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले आयोगमा दल दर्ता गराएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नवलपुर टूडे लाई जानकारी दिए।
उपनिर्वाचनका लागि एमालेलाई सूर्य र क्रम १, कांग्रेसलाई रुख र क्रम २, नेकपा (माओवादी केन्द्र) लाई गोलाकारभित्र हँसिया हथौडा चिह्न र क्रम ३, राप्रपालाई हलो चिह्न र क्रम ४ तथा नेमकिपालाई मादल चिह्न र क्रम ५ को क्रममा मतपत्रमा समावेश गरिने भएको छ।
आगामी जेठ ६ गते बिहीबार हुने प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ को उपदफा (३) बमोजिम नेपाल राजपत्रमा प्रकाशन गर्ने र दल दर्ता गर्ने राजनीतिक दललाई निर्वाचन चिह्न निर्धारण गरी प्रदान गर्ने आयोगले निर्णय गरेको छ।























