पाल्हीनन्दन गाउँपालिका अध्यक्षविरुद्ध न्याय परिषद र न्याय सेवा आयोगमा उजुरी, भ्रष्टाचार र लागुऔषध मुद्दामा छानवीन गर्न माग


नक्कली भुटानी शरणार्थी काण्डमा पुर्व उपप्रधानमन्त्री, पुर्व गृहमन्त्री माथिसमेत अनुसन्धान भई कारवाही भएको अवस्थामा गाउँपालिका अध्यक्षमाथि निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित निकायहरु आलटाल गर्नुको पछाडि कुन शक्तिको हात छ, भन्दै उजुरीकर्ताले आश्चर्य व्यक्त गरेका छन् ।
काठमाडौं, असार ८ । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) विरुद्ध छानवीन गरी कारवाही गर्न माग गर्दै न्याय परिषद र न्याय सेवा आयोगमा उजुरी परेको छ । पाल्हीनन्दन गाउँपालिका- ६ कै जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष धरेन्द्र यादवले गुप्तालाई लागुऔषध र भ्रष्टाचार मुद्दामा कारवाही गर्न माग गर्दै उजुरी दिएका हुन् ।
भ्रष्टाचार गरेको आरोपमा अध्यक्ष गुप्तासंगै अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय वुटवलका प्रमुख योगेन्द्र पाण्डेय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय वुटवलका अनुसन्धान अधिकृत बाबुराम पौडेल, पाल्हीनन्दन गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेल, पाल्हीनन्दन गाउँपालिकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, पाल्हीनन्दन गाउँपालिकाका वहालवाला प्रमुख इन्जिनियर उमेश शर्मा, पाल्हीनन्दन गाउँपालिकाका तत्कालीन लेखा अधिकृत शरद न्यौपानेलाई विपक्षी बनाई छानवीन गरेर कारवाहीको माग गरिएको छ ।
गुप्ताविरुद्ध गाउँपालिका अध्यक्ष हुँदा आर्थिक अनियमितता गरेका र साझेदारी व्यापारको करोड बढी रकम हडप्ने उद्देश्यले दुई भारतीयलाई लागुऔषध मुद्दामा फसाएको आरोपमा छानवीन गरी कारवाही गर्न माग गर्दै उजुरी गरिएको हो ।
लागुऔषध सम्बन्धी मुद्दामा गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । पक्राउ पुर्जी जारी भएपछि उनी फरार भएका थिए तर, पछि राजनीतिक शक्तिको आड र आर्थिक चलखेल गरेर धरौटीमा रिहा भएका थिए । अध्यक्ष गुप्ता माओवादी केन्द्रबाट निर्वाचित भएका हुन् । नक्कली भुटानी शरणार्थी काण्डमा पुर्व उपप्रधानमन्त्री, पुर्व गृहमन्त्री माथिसमेत अनुसन्धान भई कारवाही भएको अवस्थामा गाउँपालिका अध्यक्षमाथि निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न सम्बन्धित निकायहरु आलटाल गर्नुको पछाडि कुन शक्तिको हात छ, भन्दै उजुरीकर्ताले आश्चर्य व्यक्त गरेका छन् ।
अनुसन्धानको क्रममा गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्धा चलाउन खोजेको पुष्टि भएको थियो । सो घटनामा पक्राउ परेका गुप्ताका सहयोगी पूर्व नगर प्रहरी रघुनाथ धोबीको बयान र अन्य प्रमाणका आधारमा उनको संलग्नताका आधार भेटिएको सरकारी वकिल कार्यालय स्रोतले जनाएको थियो । गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुरर्फिन र फेनार्गन लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो ।
छानबीनका क्रममा घटना विवरण नै बनावटी भएको र उनीहरू निर्दोष देखिएको प्रहरी उच्च स्रोतले बताएको थियो । तर, उनीहरु प्रहरी हिरासतमा छन् । अनुसन्धानपछि प्रहरीले गाउँपालिका अध्यक्ष गुप्ता, उनका सहयोगी धोबी र अर्का युवक विवेक पाण्डेलाई लागुऔषध मुद्दामा सजायको मागदाबी लिई अनुसन्धान प्रतिवेदन बुझाएको सरकारी वकिल कार्यालयले जनाएको थियो । थुनामा रहनु भन्दा अघि गुप्ता र पासवानले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए । तर, नाफाको २० प्रतिशत रामा गुप्तालाई दिने सहमतिलाई बेवास्ता गर्दै रकम दिन आलटाल गर्दै आएका थिए । रामा गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनु पर्ने थियो ।
सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले आर्थिक चलखेल गरेर नवलपरासी प्रहरी प्रमुख ऋषिराम कंडेललाईसमेत प्रभावित गरेर भारतीय नागरिकलाई लागूऔषध मुद्दामा फसाएको आरोप छ । यही काण्डले एसपी कंडेलको सरुवा भएको थियो ।
थुनामा रहेका गुप्ता र पासवान निर्दोष रहेको भन्दै तत्काल रिहा गर्न र गाउँपालिका अध्यक्षलाई पक्राउ गरी उनीमाथि छानबीन गर्न थुनामा रहेका भारतीयको परिवार, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नवलपरासीले कारबाहीको माग गर्दै, परासीमा पत्रकार सम्मेलन गर्दै आन्दोलनसमेत गरेका थिए ।
लागुऔषध मुद्दामा गुप्ताविरुद्ध परेको उजुरी यस्तो छ ।
उपरोक्त सम्बन्धमा निवेदन यो छ कि जिल्ला नवलपरासी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता (दिपक) ले जिल्ला प्रहरी कार्यालयका तत्कालिन एसपी ऋषीराम कण्डेलसमेतको मिलोमतोमा भारत घर भै सुनवल नगरपालिका- ९ भुमहीमा स्क्रेय कवाडीका कारोवार सञ्चालन गरी आएका रामा साह र जितेन्द्र पासवानलाई ०७९÷०३÷२२ गते षडयन्त्र रचेर पक्राउ गरी नक्कली एवंम बनावटी लागुऔषध मुद्दामा फसाएका थिए ।
त्यसपछि प्रहरी प्रधान कार्यालयसमेतको जानकारीमा आएकोले सो घटना अनुसन्धानमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयसमेतबाट केही प्रहरी खटी छानबीन गर्दा गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्तासँग मिलोमतो गरी निर्दोष ब्यक्तिहरुलाई फसाएको भन्ने थाहा पाए पश्चात प्रहरी उपरिक्षक ऋषीराम कण्डेललाई बैजु प्रसाद गुप्ता (दिपक) ले नै फोन गरी मलाई भनेकाले मैले प्रहरी टोली पक्राउ गर्न पठाएको र प्रतिवादी रामा साहले बयान गर्दा बैजु प्रसाद गुप्ताले नै आफ्नो गाउँपालिकाको नगर प्रहरी रघुनाथ धोवी मार्फत लागुऔषध मेरो मोटरसाइकलमा नजिकै फाल्न लगाई मलाई फसाएको भनी गरेको बयानसमेतको आधारमा गाउँपालिका अध्यक्ष बैजु पनि लागुऔषध कारोबारमा संलग्न रहेको कुरा सबैमा जानकार नै छ ।
निज माथिसमेत छानबीन गर्न प्रतिवेदन पेश गरेकोमा प्रहरीले प्रारम्भीक अभियोग पत्र जिल्ला न्यायधीवक्ताको कार्यालयमा बुझाए पश्चात तत्कालिन जिल्ला न्यायधिवक्ता चन्द्र बहादुर सिंजालीले गाउँपालिका अध्यक्ष विपक्षी बैजु प्रसाद गुप्ता उपरको अभियोग हल्का गर्न नमानेपछि निजलाई रातारात अध्यक्ष गुप्ताले राजनीतिक शक्ति र पहुच लगाई सरुवा गराई जिल्ला न्यायाधिवक्ता कृष्ण चन्द्र पाण्डेलाई ल्याउनु भयो ।
जिल्ला न्यायाधीवक्त ज्यूले विपक्षी बैजु प्रसाद गुप्ता जसलाई मुख्य अभियुक्त बनाउनु पर्ने बैजु प्रसाद गुप्ताको दबाब प्रभाव र आर्थिक प्रलोभन समेतमा परी निजलाई मतियारको आरोप लगाई अभियोग पत्र दाखिल गरी निज प्रतिवादी बैजु प्रसाद गुप्तालाई धरौटीमा छुट्ने गरी षडयन्त्र गर्नु भएको हो । निज प्रतिवादी गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता केही समय गाउँपालिकमा हाजिर पनि नरही सरकारी गाडीसहित फरार भई सोको जानकारी गाउँपालिका कार्यालयलाई दिई वेपता भएका थिए ।
मिति २०७९।०८।०३ मा भएको संसदिय निर्वाचनमा राप्रपाबाट सांसद पदको उम्मेदवार ध्रुव बहादुर प्रधानले तपाईलाई धरौटीमा छुट्टाई दिन्छु भनी निज बैजु प्रसाद गुप्ताले ध्रुव बहादुर प्रधानलाई समर्थन गरी जिताउन मद्दत गरेका र सोही क्रममा श्री नवलपरासी जिल्ला अदालतमा रहेका ०७९–सी १–७०४४ को लागुऔषध मुद्दामा मिति २०७९।०८।०६ गते अर्थात निर्वाचन लगतै अदालतमा हाजिर भै सोही दिन रु.५,००,०००।- पाच लाख धरौटीमा छुटेका छन् ।
यसरी निज बैजु प्रसाद गुप्तालाई छुट्टाउनको लागि मात्र रातारात सरुवा गराई जिल्ला न्यायधिवक्ता कृष्ण चन्द्र पाण्डे आउदा अनुसन्धान अधिकृतबाट पेश भएको प्रारम्भीक अभियोग पत्र विपरीत बैजु प्रसाद गुप्तालाई मुख्य अभियुक्तबाट ठुलो रकमको चलखेल गरी मतियारमा अभियोग पत्र दाखिल भएको र निज बैजु प्रसाद गुप्तालाई धरौटी राख्ने गरी मिति २०७९।०८।०६ मा भएको आदेश उपर मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ७३ बमोजिम सो आदेश बदर गराउन पुनराबेदन सुन्ने अदालतमा निवेदन दिनु पर्नेमा रकम खुवाई प्रलोभनमा पारी सो दफा ७३ बमोजिमको निवेदन नै नगरी मौन बसी प्रतिवादी बैजु प्रसाद गुप्तालाई सघाएकाले निज जिल्ला न्यायधिवक्ता कृष्ण चन्द्र पाण्डेलाई कानुन बमोजिम कार्यवाही गरी भ्रष्टाचारमासमेत कार्यवाही गरी पाउन यो निवेदन गरेको छु ।
आर्थिक अनियमितता गरेको भन्दै परेको उजुरी यस्तो छ ।
जिल्ला नवलपरासी पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ता मिती २०७४ को स्थानीय निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भै आफनो कार्यालयमा धेरै जसो शिर्षकमा र विभिन्न योजना तथा कार्याक्रममा व्यापक अनियमित्ता चरम भ्रष्टाचार गरेको कुरा जग जाहेर छ । निज गाउँपालिका अध्यक्ष बैजुले आफनो मातहातका कर्मचारीहरुलाई प्रभावित गरी नियम कानुनको मर्यादालाई उल्लंघन र वेवास्था गरी गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता तत्कालिन प्रमुख प्रशासकीय अधिकृतद्वय दुर्गा पौडेल, श्री प्रसाद गौतम, वाहालवाला इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपानेसमेतको मिलोमतोमा नेपाल सरकारको र जनताबाट उठेको करको रकम ब्रम्हलुट गरी कालो धन र अकुत सम्पती जोडेको कुरा तपशिल वमोजिम बुँदागत रुपमा बिवरण उल्लेख गरेको छु ।
तपशिल
पाल्हीनन्दन गाउँपालिका अध्यक्ष श्री वैजु प्रसाद गुप्ता र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा पौडेल, श्री प्रसाद गौतम, वाहाल वाला इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपानेसमेतको मिलोमतोमा आर्थिक अनियमित्ता र व्यापक भ्रष्टाचार गरी कालो धन अकुत सम्पती जोडेको विषयमा विभिन्न शिर्षकको आयव्यय सम्वधित सुचनाको हक माग्दा उपलव्ध नगराएतापनि गाउँपालिका कार्यालय भित्रका ईमान्दार कर्मचारीहरुबाट केहि बिवरण प्राप्त भै आवश्यक छानवीन गरी कानुन वमोजिम कार्यवाही गर्न विभिन्न चरणमा विभिन्न मितिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, क्षेत्रीय कार्यालय बुटवल रुपन्देहीमा र अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाण्डौमा यस गाउँपालिका अन्तर्गतका सचेत नागरिक समाजसेवीहरुको चौतर्फी रुपमा निवेदन प्रस्तुत गरेको फाईल आयोगमा तामेल गरी राखिएको व्यहोरा वाहिर आएको छ ।
श्रीमान यसमा भए गरेको कमि कमजोरी सम्वन्धमा जानकारी लिन धेरै प्रयासहरु भयो तर, गाउँपालिका अध्यक्षसमेतको द्वेय प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा पौडेल, श्री प्रसाद गौतम, वाहालवाला प्रमुख इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपानेको मिलोमतोमा प्रत्येक आ.वा.मा विभिन्न शिर्षकहरुमा भएगरेको अनियमित्ता र व्यापक भ्रष्टचार गरेको विषय सम्वन्धित अनुसन्धान अधिकृत श्री बाबुुराम पौडेललाई थाहा हुँदाहुदै पनि भ्रष्टचारीहरुलाई बचाउने नियतले आर्थिक प्रलोभनमा परोि र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा पौडेल र अनुसन्धान अधिकृत एउटै व्याजिका कर्मचारी भएको हुनाले प्रायः सबै आवेदनमा वार्गेनिगं गरी निज अनुसन्धान अधिकृत बाबुराम पौडेलले क्षेत्रीय अख्तियार प्रमुख योगेन्द्र पाण्डेयलाई मिलाई भ्रष्टचारीहरुलाई संरक्षण गरेका हुन् ।यसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय पनि चुकेको अवस्था छ । यसमा केहि आवश्यक कुरा वुँदागत रुपमा उल्लेख गर्न चाहान्छु ।
तपशिल
१, श्री अख्तियार दुरुपयोग अनुसन्धान आयोग एउटा न्यायिक पवित्र निकाय हो । यस आयोगमा कार्यरत उच्च तहका कर्मचारीहरुको कर्तुतले गर्दा यसमा सिगों न्यायिक निकाय वदनाम भै आयोग नै अपाहिज भैसकेको अवस्था छ । आम सर्व सर्वधारण जनता ईमान्दार समाजसेवी कानुनको मर्यादा भित्र रहि जनताको भलो चिताउने व्यक्तित्वहरु अख्तियार दुरपयोग अनुसन्धान आयोगबाट केहि हुन्छ भन्ने आशा मरिसकेको अवस्था आईसकेको छ । परिस्थितिलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवलका प्रमुख श्री यागेन्द्र पाण्डेय ज्यु र अनुुुसन्धान अधिकृत बाबुराम पौडेलसमेतले बुझ्न नै पर्ने वातावरण शृजना भएको छ ।
२, पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले २०७४ सालमा भएको स्थानीय निर्वाचनमा निर्वाचित भै आफ्नो मातहातका कर्मचारी तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा प्रसाद पौडेल र तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमको कार्याकालमा मिलोमतोमा र प्रभावमा परि प्रमुख इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपानेसमेतलाई अध्यक्ष बैजुले प्रभावमा लिई आर्थिक अनियमित्ता गरी चरम भ्रष्टाचार गरेको कुरा तपशिल वमोजिम बुँदागत रुपमा उललेख गर्न चाहान्छु ।
निम्न उल्लेखित बुँदामा आर्थिक अनियमित्ता गरी व्यापक भ्रष्टाचार गरेता पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवल रुपन्देहीका प्रमुख श्री योगेन्द्र पाण्डेय र क्षेत्रीय कार्यालय अनुसन्धान आयोग बुटवलका अनुसन्धान अधिकृत श्री बाबुराम पौडेलको संरक्षणमा भ्रष्टाचारीहरु जोगिएका छन् ।
३, पाल्हिनन्दन गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा पौडेल, श्री प्रसाद गौतम, वाहालवाला इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपानेसमेतको मिलोमतोमा सांगठनिक आर्थिक अनियमित्ता र संस्थागत भ्रष्टचार गरेको कुरा निम्न लिखित बुँदामा उल्लेख गरेको छु ।
निम्न
क) यस पाल्हीनन्दन गाउँपालिकामा मिति २०७४ सालदेखि हालसम्म जिल्लाको दर रेटलाई बेवास्था गरी जिल्ला दर भन्दा बढि दर रेटमा लगत ईष्टिमेट गरी सोही बमोजिम बढि दर रेट अनुसार मु्ल्याकंन बढाई रकम मासेको कुरा बाहिर आएको जाहेर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाण्डौमा चेकजाँचको लागि अनुरोध गर्दछु ।
ख) यसमा पटक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाण्डौमा पटक पटक निवेदन पेश भएको छु तर, अनुसन्धान गर्ने कार्य अख्तियार दुरुपयोग अनुसन्धान क्षेत्रीय कार्यालयबाट भए गरेकोले सत्य तथ्य लुकाउने कार्य भएको छ ।
ग) यसमा कुनै पनि गाउँपालिकाका निर्वाचित जन प्रतिनिधिको कार्यालयमा एक पटक मात्र डिजिटल भिलेज प्रोफाइल बनाउन सकिने व्यवस्था छ र सोको अध्यावधिक गर्न सकिने नियममा व्यवस्था छ तर, गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताको दबाव अथवा प्रभावमा परी तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा पौडेलको कार्याकालमा २०७४ सालमा प्रथम पटक डिजिटल भिलेज प्रोफाइल बनाइए बापत रु. चालिस लाख (४०,००,०००) खर्च भएको र पुनः सोही कार्याक्रमका लागि तत्कालीन प्रमुख प्रशासकीय अधिकृत श्री प्रसाद गौतमको कार्याकालमा अध्यक्षको मिलोमतोमा दोस्रो पटक डिजिटल भिलेज प्रोफाइल कार्याक्रममा रु. बीस लाख (२०,००,०००) खर्च गरी आर्थिक अनियमित्ता गरी चरम भ्रष्टाचार गरेको कुरा अ.ले.प. र म.ले.प. वाट स्पष्ट देखिएको छ । आफैमा यो एउटा प्रमाण पनि हो ।
घ) २०७४ सालमा प्रथम पटक सम्पन्न स्थानीय निर्वाचनवाट निर्वाचित जनप्रतिनिधीको निर्णयले गाउँकार्यपालिका भवन निर्माणको लागि बजेट बिनियोजन भएको सोको टेण्डर हुँदा रु. ७,४९,०००,०० स्विकृत भई निर्माण कार्य भएको हो र प्रत्येक आर्थिक वर्षमा भेरियन्ट अर्डर गरी विभिन्न बहानामा रकम थप गर्दै निर्माण कार्य भएको उक्त भवन मिति २०७८ सालमा उद्धघाटन हुँदासम्म रु १०,००,०००,००।– (दश करोड) सम्म रकम मिलोमतोमा भुक्तान भई आर्थिक अनियमित्ता चरम भ्रष्टाचार भएको छ ।
ङ) २०७९ सालमा स्थानिय निर्वाचनमा पुनः निर्वाचित हुनु भएका जनप्रतिनिधीहरुको पहिलो बैैठकबाट उक्त पाल्हीनन्दन गाउँपालिका भवनको वक्यौता भुक्तानीको रकम रु.१,४०,०००,०० (एक करोड चालिस लाख) ठेकेदारलाई बक्यौता भुक्तानी दिनु छ भनि झुठा बिवरण उल्लेख गरी निर्माण गराई आर्थिक अनियमित्ता भएको र चरम भ्रष्टचार गरेको स्पष्ट छ । यसमा गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता, द्धेव तत्कालिन प्रमुख प्रशासकीय अधिकृत श्री दुर्गा पौडेल, श्री प्रसाद गौतम, वाहालवाला इन्जिनियर श्री उमेश शर्मा र तत्कालिन लेखा अधिकृत श्री शरद न्यौपानेसमेतको संलग्नता छ । छानविन गरि आवश्यक कार्यवाहीको लागी अनुरोध छ ।
च) आ.वा. ०७६ ०७७ आ.वा. ०७७ ०७८ मा भएको पम्पिगं सेट खरिदमा व्यापक आर्थिक अनियमित्ता चरम भ्रष्टचार भएको कुरा यस भन्दा पहिलेको निवेदनमा उल्लेख गरिएको छ । उक्त पम्पिगं सेट आफनो कार्यकर्ता आसेपासेलाई दिई धेरै जसोले पम्पिगंसेट विक्री गरी सरासर गलत कार्य गरेका छन् । यसमा छानबिन गर्न आवश्यक भएकोले छानबिनका लागि अनुरोध छ ।
छ) आ.वा. ०७७ ०७८ मा र आ.वा. ०७८ ०७९ मा आर्थिक सहयोग शिर्षकमा रु ३०,००००० ( तिस लाख) रकम छट्याई गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ताले आफुले नियुक्ति गरेको करारका कर्मचारी पशुपति गुप्ता, प्रदिप तिवारी, नर्वदेश्वर गुप्ता, गाडी चालक प्रदिप चौधरीसमेतको नाममा पेश्की गएको रकमको फर्जी भर्पाई गराई रकम हिनामिना गरी व्यापक अनियमित्ता गरी चरम भ्रष्टचार गरेको कुरा अख्तियार दुरपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बुटवल रुपन्देहीका प्रमुख श्री योगेन्द्र पाण्डेय र क्षेत्रीय कार्यालय अनुसन्धान आयोग वुटवलका अनुसन्धान अधिकृत श्री बाबुराम पौडेलको जानकारीमा हुँदा हुदैं पनि भ्रष्टाचारीलाई संरक्षण गरेकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालय टंगाल काठमाण्डौबाट छानविनको लागि अनुरोध गर्दछु ।
ज) निज पाल्हीनन्दन गाउँपालिका अध्यक्ष वैजु प्रसाद गुप्ताले आफनो जीवनमा कुनै पनि काम वाँकी राखेका छैनन् । द्धन्दकालमा चन्दा असुली तथा लुटपाट गरी कालो धन र अकुत सम्पती जोडेका हुन् । कालो धनको प्रयोग गरी गाउँपालिका अध्यक्ष पदमा निर्वाचित भै अफिस कै सरकारी गाडीमा लागुऔषध ओसारपसार गरी आफुले नियुक्ति गरेको गाउँपालिका नगर प्रहरीलाई प्रयोग गरी आफनै व्यापारी साथी राम गुप्ता र जितेन्द्र पासवानलाई लागुऔषध मुद्दामा फसाएको कुरा प्राय धेरैलाई सर्वदित नै छ । गाउँपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता र रामा गुप्ता, जितेन्द्र पासवान कवाडीको कारोवार गरि मोटो रकम फाईदा भएको र सर्त वमोजिम रु.१,३३,०००००/- (एक करोड तेतिस लाख) गाउँपालिका अध्यक्षबाट रामा गुप्ताले पाउनु पर्ने रकम माग्दा रिसले निर्दोष मानिसलाई आफ्नै कर्मचारी, पालिकाका नगर प्रहरीलाई पैसा दिई लागुऔषध खरिद गर्न लगाई प्रहरी प्रशासन समेतलाई झुटो विवरणको फोन गरी जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प) का प्रहरी उपरिक्षक ऋषिराम कण्डेल र सशस्त्र प्रहरी उपरिक्षक, राष्ट्रिय अनुसन्धानका उपरिक्षक र जिल्ला प्रमुख अधिकारीसमेतलाई भ्रममा पारी झुठो कुरा गरी निर्दाेषलाई फसाएको र गाडीमा लागुऔषध ओसारपसार गर्दै आएको कारण गाडीको भित्रि सामानहरु परिवर्तन गरेको कुरा मोटो रकमको विल पेश गर्दा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत विच विवाद उत्पन्न हुँदा कुरा वाहिर आएपछि जानकारी प्राप्त भएको छ ।
झ) निज गाउँपालिका अध्यक्ष लागुऔषध कारोवार गर्दा गर्दै आफनै कवाडी कारोवार व्यापार पार्टनरलाई योजनाकारको रुपमा सम्वन्धित निकायहरुमा गलत रिपोटीगं गरी फसाएको कुरा सवै स्थानीय वासीहरुलाई जानकारी भएको कुरा स्पष्ट गर्न चाहन्छु ।
ञ) निज गाउँपालिका अध्यक्ष बैजु पैसा र पावरको आडमा नवलपरासीका सम्मानित जिल्ला अदालतवाट रु. ५००००० (पाँच लाख) धरौटीमा तारेख लिई मुद्धा खेपी रहेको अवस्था छ । निजको कालो कर्तुतलाई ढाकछोप गरी बचाउने प्रयास भएकोमा न्यायलय नै बदनाम हुने अवस्था सृजना भएको छ । सत्य तथ्यलाई अध्ययन गरी कानुन बमोजिम कारवाहीको लागी निवेदन साथ अनुरोध गर्दछु ।
अध्यक्ष गुप्ताले भने उजुरीमा उल्लेख गरिएका आर्थिक अनियमितता र लागुऔषध मुद्दामा फसाएको भन्ने कुराहरु गलत भएको दावी गरेका छन् ।
अख्तियार बुटवलका प्रमुख पाण्डे र पाल्हीनन्दन अध्यक्ष दिपक गुप्ताविरुद्ध छानवीन गर्न अख्तियारको केन्द्रीय कार्यालयमा दुईवटा उजुरी पनि दर्ता भएको छ ।

























