देश

राष्ट्रिय युवा संघ नेपाल भाेजपुरद्वारा मास्क तथा सेनिटाईजर बितरण

नवलपुर टुडे
२०७८ बैशाख १६ | मध्यान्ह ०८:०१ बजे

भोजपुर,
राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियू भोजपुरले मास्क, सेनिटाइजर र सन्देशमुलक सामग्री वितरण अभियान थालेको छ ।

युवा संघ र अनेरास्ववियूले विहिबार अन्य जिल्लाबाट भोजपुर आउने यात्रु बस तथा ढुवानीका साधनहरुलाई लक्षित गरेर मास्क, सेनिटाइजर तथा कोभिड –१९ बाट बच्ने सन्देशमुलक सामग्री छापिएको पर्चा वितरण गरेको हो ।

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै युवाहरुले कोरोनाबाट बच्नको लागि ३ दिनसम्म सचेतनामुलक कार्यक्रमसँगै स्वास्थ्य सामग्री वितरण अभियान थालेको युवा संघ नेपाल भोजपुरका अध्यक्ष ज्ञानेन्द्र राईले नवलपुर टुडेलाई जानकारी दिए ।

photo 2021 04 29 20 52 07
अध्यक्ष राईले भने,‘कोरोना भाइरसबाट बच्नका लागि हामीले यो अभियानको थालनी गरेका हौँ । युवाहरुले यस्तो काममा अग्रपंतीमा रहेर काम गर्नु पर्छ भन्ने उद्धेश्यले ३ दिनसम्म यस स्थानमा अभियान सञ्चालन गर्नेछौँ । हामीले विशेष गरेर स्थानीयसँगै अन्य जिल्लाबाट यहाँ भित्रने बस तथा धुवानीका साधनहरुलाई ध्यानमा राखेका छौँ ।’

युवा संघ र विद्यार्थी संगठनले १० हजार मास्क र ३० लिटर सेनिटाईजर वितरण गर्ने लक्ष्य लिएको अध्यक्ष राईले जानकारी दिए । कार्यक्रममा प्रहरी चौकी जरायोटारले पनि सहजीकरण गरेको छ ।

समाजमा सकारात्मक सन्देश फैलाउने उद्धेश्यले युवाहरुले थालेको काम उदाहरणीय रहेको स्थानीयले बताएका छन् । स्थानीय सुरेन्द्र श्रेष्ठले भने,‘ युवाहरुले थालेको यो अभियान धेरै उपयोगी छ । खास गरेर बाहिरबाट आउने यात्रुहरुलाई लक्षित गरेर कार्यक्रम सञ्चालन भएकोले यसले कोराना नियन्त्रणमा केहि हदसम्म सहयोग पुग्छ । हामीले यस्ताहरुलाई प्रोत्साहन गर्न आवश्यक छ ।

photo 2021 04 29 20 52 05

कार्यक्रमलाई सम्वोधन गर्दै नेकपा एमाले भोजपुरका पार्टी सचिव किरण राईले महामारीको अवस्थामा युवाहरुले थालेको काम सराहणिय रहेको बताउँदै पार्टीको तर्फबाट पनि सहयोग गर्ने बताए । सचिव राईले भने,‘ युवाहरुले थालेको यो काम प्रशंशा योग्य छ ।

हाम्रो भातृ संगठनहरुले जनताको सेवाका लागि देखाएको सामाजिक कामलाई पार्टीको तर्फबाट पनि सहयोग हुनेछ । यस्ता काममा युवाहरुलाई सवैले साथ सहयोग गर्न आवश्यक छ । यसले नेकपा एमाले जनताको साथमा छ भन्ने सन्देश पनि प्रवाह भएको छ ।’

कमेन्टहरु