कैलालिमा पनि १६ गतेबाट २२ गतेसम्म निषेधाज्ञा


धनगढी ।
कैलालीमा बिहीबार देखी निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । वैशाख १६ गते बिहान ६ बजे देखि २२ गतेसम्म जिल्लाभर निषेधाज्ञा जारी गरीएको प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले नवलपुर टुडे लाई बताए ।


निषेधाज्ञा अवधिमा अत्यावश्यक सेवाबाहेकका सम्पूर्ण गतिविधि बन्द गरिएको छ।
खाद्यान्न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षा जस्ता सेवा सञ्चालनमा भने रोक लगाइने छैन।
के हो त निषेधाज्ञा ?
स्थानीय प्रशासन ऐन २०२८ अनुसार निषेधाज्ञा भनेको प्रमुख जिल्ला अधिकारीले कुनै हिंसात्मक काम कारवाई हुने वा हुलदङ्गा हुने आशङ्का भएको कार्यलाई रोक्न गर्ने प्रशासनिक प्रयासलाई निषेधाज्ञा भनिएको छ ।
कुनै सभा जुलुस वा भीडले हिंसात्मक वा ध्वंसात्मक प्रवृत्ति लिई त्यसको कुनै काम कारवाईबाट शान्ति भङ्ग हुने सम्भावना देखिएमा प्रहरीद्वारा रोक्न लगाउने र प्रहरीले नियन्त्रण गर्न नसकेकोमा सम्बन्धित ठाउँमा तुरुन्तै आफैँ गई वा आफू मातहतका अधिकृतलाई पठाई सकेसम्म सम्झाइ शान्ति कायम गराउने अधिकार यस ऐनले प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
अवज्ञा गरे के कार्वाहि हुन्छ ?
शान्ति कायम हुन नसकेमा प्रहरीको मद्दतले लाठी चार्ज, अश्रुग्याँस, फोहरा र हवाई फायर समेत आवश्यकता र परिस्थिति अनुसार जो गर्नु पर्ने बल प्रयोग गरी शान्ति कायम गर्ने गराउने अधिकार यस ऐनले तोकेको छ ।
शान्ति कायम गर्न नसकिने देखिएमा र गोली चलाउनु पर्ने आवश्यकता परेमा सो गर्नुभन्दा अगाडि भीडलाई हट्दैनौ भने गोली चलाइनेछ भनी स्पष्टसँग सो भीडले बुझ्ने गरी चेतावनी दिने र त्यति गर्दा पनि भीड हटेन र गोली चलाउनु पर्ने नै भयो भने घुँडा मुनि पारी गोली चलाउनको निमित्त आदेश लेखी सही गरी दिने व्यवस्था छ ।
के के गर्न पाइने र के के नपाउने ?
औषधी, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु तथा सेवा खरिदको कामका लागी मात्रै व्यक्ति घरबाट बाहिर निस्कन पाउने छन् ।अत्यावश्यक कार्यका लागि घर बाहिर जाँदा अनिवार्य रूपमा मास्क प्रयोग गर्ने र भौतिक दूरी कायम गर्नुपर्नेछ।
सवारी साधन जिल्ला भित्र प्रवेश गर्न पाउने छैनन् । तर अत्यावश्यक सामाग्री लगायत ढुवानीका सवारी साधन, भन्सारबाट जाँच पास भई आएका साधन,सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने सञ्चालन हुने छन् ।
सबै प्रकारका निजी तथा सार्वजनिक सवारीसाधन जिल्ला भित्र सञ्चालन गर्न नपाइने भएको छ भने औषधी, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेनटाइन, आइसोलेसन, फोहर मैला व्यवस्थापन, बिरामी सवार सवारी भने सञ्चालन गर्न पाइने छ ।
भिड-भाड,जुलुस ,मेला, पर्व, महोत्सव र जात्रा सञ्चालन गर्न पाइने छैन ।सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न पाइने छैन ।शैक्षिक संस्था चल्ने छैनन् ।होटेल रेष्टुरा सञ्चालन गर्न नपाइने ।डिपार्टमेन्ट स्टोर, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्विमिङ पुल, जिम खाना, पुस्तकालय, सङ्ग्रहालय, सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी, प्यालेस सञ्चालन गर्न पाइने छैन।
ठेला व्यवसाय पनि सञ्चालन गर्न पाइने छैन ।अत्यावश्यकता बस्तु बिहान ५बजेदेखि १० बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ। (खाद्यान्न, तरकारी, दूध, फलफूल लगायत अत्यावश्यक बस्तुहरू)























