गुरुङ बिरुद्दकाे अविश्वासकाे प्रस्तावमा आजबाट छलफल हुने


पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव अाजबाट टेबल हुने भएको छ ।
सोमबार बोलाइएको प्रदेशसभाको विशेष अधिवेशनमा मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल शुरू हुने भएको छ ।
आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले अाजैका लागि विशेष अधिवेशनमा अविश्वास प्रस्ताव टेबुल गर्ने निर्णय गरेको थियाे । पहिलो दिन नै अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यतालिका तय भएपछि बैठक केही दिन लम्बिने भएको छ ।
सभामुख नेत्रननाथ अधिकारीले अविश्वासको प्रस्ताव पेश गरेर सोमबारदेखि नै छलफल अघि बढाउने र सांसदहरुलाई उक्त प्रस्तावका बारेमा बोल्न समय दिने हिजै बताउनुभएकाे थियाे ।
गण्डकी सरकारविरुद्ध विपक्षी दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले प्रदेश सभा सचिवालयमा गत वैशाख २ गते अविश्वासको प्रस्ताव दर्ता गरेका थिए।
राष्ट्रिय जनमोर्चाले पनि साथ दिएको उक्त प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेललाई प्रस्ताव गरिएको छ ।
उक्त प्रस्ताव आउने निश्चित भएपछि प्रदेश सरकारले बैशाख १ गते राती १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको हिउँदे अधिवेसन अन्त्य गरिदिएको थियो।
अधिवेसन अन्त्य भएपछि विपक्षी दलहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई प्रदेश सभाको विशेष अधिवेसन बोलाउन निवेदन दिएका थिए।
सोही निवेदनका आधारमा प्रदेश प्रमुख शेरचनले बैशाख १३ गते विशेष अधिवेसन बोलाउनुभएको हो ।
अविश्वासको प्रस्तावमाथि मतदान भने वैशाख १५ गते हुने भएको छ ।























