सहकार्यका साथ अघिबड्न दलहरुलाई पुर्वराष्ट्रपतिकाे सुझाव


बैशाष ११, ओखलढुंगा।
पूर्वराष्ट्रपति डा.रामवरण यादवले दलहरु नमिल्दा देश दुर्घटनाको खतरामा परेको बताएका छन् । ओखढुंगाको मानेभञ्ज्याङ गाउँपालिका स्थित भगवती माध्यमिक विद्यालयको शुभ हीरक जयन्ती महोत्सवलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले दलहरुबिचको सहकार्य नहुँदा देशमा जटिलता बढेको बताएका हुन् । यादवले सत्तारुढ दलको दम्भ र अन्य दलहरुको पनि स्पष्ट कार्यदिशा नहुँदा समस्या बढेको बताए ।
मुलुकको समृद्धी र दिगो विकासका लागि दलहरुबिच सहकार्य आवश्यक रहेको उनको भनाई थियो । ‘दलहरुको सत्तास्वार्थले देश दुर्घटनाको जोखिममा पुग्यो । अब दलहरु मिल्नुको विकल्प छैन ।’ उनले भने, ‘जनताले अब पनि दुःखका दिन व्यहोर्नु पर्ने अवस्था आउनु हुँदैन । यदि दलहरुले बेलैमा सहकार्य नगर्ने हो भने नेता र पार्टी प्रति मात्रै अविश्वास बढ्ने होईन संघियता नै धरापमा पर्ने देखियो ।’ संविधानसभाबाट संबिधान जारी भएपछि संघियतामा मुलुक अग्रगतिमा अघि बढेपनि पछिल्ला बर्षहरुमा दलहरुबिच सहकार्य नहुँदा व्यवस्था नै कमजोर बनेको उनको भनाई थियो । राजनितिकदलहरु देशको विकासमा भन्दा बढी सत्तामोहमा केन्द्रित हुने प्रवृति बढेको भन्दै उनले यसले जनतामा निरासा छाउने बताए । समृद्धिका लागि सबै दलको सहकार्य आवश्यक पर्नेमा जोड दिँदै पूर्वराष्ट्रपति यादवले राजनितिक खिचातानीले देश दुर्घटनामा जाने खतरा हुने चिन्ता व्यक्त गरेका छन् ।
जनताको चाहना अनुरुप सबैको योगदानमा आएको संघियता जोगाइराख्न एकता र सहकार्य आवश्यक पर्ने उनको भनाई छ ।
संसद विघटनपछि मुलुकको राजनितिमा तरलता आएको भन्दै पूर्वराष्ट्रपति यादवले जनता अस्थिरता भन्दा स्थिरता र समृद्धि विकास चाहने भएकाले जनभावना अनुसार काम गर्न सबै राजनितिक दललाई सुझाव दिएका छन् ।
उनले विद्यार्थीहरुकोे सिकाई सैद्धान्तिकसँगै व्यवहारिक पनि हुनुपर्नेमा जोड दिनुभएको छ ।
विद्यालयको हीरक महोत्सवलाई सम्बोधन गर्न पूर्वराष्ट्रपति यादव ओखलढुंगा आएका हुन् ।
प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले उद्घाटन गरेको महोत्सवलाई संघिय सांसद यज्ञराज सुनुवार, पूर्व संविधानसभा सदस्य तथा कांग्रेस नेता रामहरी खतिवडा, प्रदेश सांसद मोहन खड्का, राष्ट्रिय गानका रचयिता प्रदिप कुमार राई (व्याकुल माइला) लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रमका वक्ताहरुले विद्यालयले विगतमा पनि देशका लागि उच्चकोटीका विद्यार्थी उत्पादन गरेको स्मरण गर्दै आगामी दिनमा पनि गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिनुपर्ने बताएका थिए ।























