हलेसी मन्दिरमा २४ किलाे चाँदिले शिवलिंग ढाकियाे


बैशाष ९, खाेटाङ।
पूर्वको पशुपतीनाथको रुपमा परिचित खोटाङको हलेसीमा रहेको मुख्य शिवलिङ्गलाई २४ किलोको चाँदीको ढकनीले ढाकीएको छ ।
राम नवमीको अवसर परेर हलेसी विकास समितीले मंगलबार आयोजना गरेको अनौपचारिक कार्यक्रममा प्रदेश १ कि सामाजिक विकास मन्त्री माननिय उषाकला राईले उक्त चाँदीको ढकनीले मुख्य शिवलिङ्ग ढाकेका हुन ।
हलेसी विकास समितिको आन्तरिक स्रोतबाट निर्मित उक्त ढकनीले शिवलिङ्ग ढाक्न हलेसीका मुख्य पुजारी गोपाल गिरीले मुख्य पुजा गरेपछि सामाजिक विकास मन्त्री राईले ढकनीले शिवलिङ्गलाई ढाकेका थिए ।
कुल २४ लाखको लागतमा निर्माण भएको उक्त ढकनी अर्पण गर्ने कार्य कोरोना महामारीको कारणले औपचारिक कार्यक्रम नगरि अनौपचारिक रुपमा गरिएको हलेसी विकास समितिका कार्यकारी निर्देशक सम्मर बहादुर भुजेलले नवलपुर टुडेलाई जानकारी दिए ।
पहिले खुल्ला रुपमा रहेको शिवलिङ्ग अबदेखि चाँदीको आवरण भित्र रहने भएको छ । मुख्य शिवलिङ्गमा भक्तजनहरुले पुजा गर्दा अर्पण गरिएको पुजा सामाग्रीहरुको कारणले गर्दा मुख्य शिवलिङ्ग खिइदै गएकोले उक्त शिवलिङ्ग संरक्षणको लागि चाँदीको ढकनीले शिवलिङ्गलाई ढाकिएको पनि कार्यकारी निर्देशक भुजेलले बताए ।
हलेसीको शिवलिङ्गढाक्ने क्रममा प्रदेश १ कि सामाजिक विकास मन्त्री, हलेसी तुवाचुङ नगरपालिकाका मेयर ईवन राई, उप–मेयर बिमला राई, खोटाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा , प्रहरी नायब उपरिक्षक गोबिन्द चिमरिया लगायतको उपस्थिति रहेको थियो ।
सत्ययुगमा दानव भष्मासुरले महादेवको तपस्या गरेर महादेव खुशी भई वरदान माग्न भन्दा जसको शिरमा हात राख्छु त्यो तत्काल भष्म होस भनी बरदान माग्दा महादेवले बरदान दिनु भई उक्त बरदानको शक्तिले महादेवलाई नै भष्म गरि पार्वती सँग विवाह गर्ने मनसायले महादेवको शिरमा हात राख्न लाग्दा भष्मासुर सँग भाग्दै महादेव यो स्थानमा लुक्नु भएको किंवदन्ती रहेको छ ।
हाल यो स्थान हिन्दु, बौद्ध र किराँत धर्मको आस्थाको केन्द्र रहँदै त्रि–धार्मिक स्थलको रुपमा विकास भएको छ ।























