वीरगंज उद्योग वाणिज्य संघद्वारा मन्त्री रिजालको स्वागत तथा भेंटघाट


वीरगंज ५ बैशाख । उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री रमेश रिजालले उद्योग वाणिज्य र आपुर्ति संग सम्बन्धीत नितिगत तथा ब्यवहारिक जटीलतालाई आफुले सिघ्र निराकरण गर्ने बताउँदै मुलुकका सामु बिद्यमान औद्योगिक एवम् ब्यवसायिक प्रतिकुलतालाई समय सापेक्ष सम्बोधन गर्ने प्रतिब्ध्ता ब्यक्त गर्नु भयो ।
वीरगंज उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेंटघाट कार्यक्रममा बोल्दै मन्त्री रिजालले वीरगंजले बोकेको अपार आर्थिक बिकासको सम्भावना र अवसरलाई बिश्लेषनात्मक तवरबाट उजागर गर्दै राष्ट्रिय प्रथमिकताको बहसमा लैजाने बताउनु भयो । आफु पर्सा जिल्लाकै भएकोले पनि यस भेगका साना, मझौला र ठुला उद्योगी व्यवसायीहरुको भोगाई र व्यवसायीक कठिनाइलाई नजिकबाट नियालेको बताउँदै मन्त्री रिजालले राष्ट्रिय अर्थतन्त्रलाई गतिशिल बनाउने प्रमुख सयन्त्रका रुपमा रहेका निजी क्षेत्रलाई नेतृत्वदायी भुमिमा नराखे सम्म आर्थिक बिकासको अभियानले सोचे अनुरुपको गतिलिन नसक्ने धारणा राख्नु भएको थियो ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल अग्रवालले नेपालको कुल औद्योगिक लगानी मध्ये झण्डै ७० प्रतिशत औद्योगिक लगानी यसै क्षेत्रमा अवस्थित उद्योग प्रतिष्ठानमा रहेको छ । अत्यन्तै ठुलो सम्भावना र महत्व बोकेको यस क्षेत्रलाई नेपाल सरकारले बिधिवत रुपमा औद्योगिक क्षेत्रका रुपमा घोषणा गर्न मन्त्रीसंग आग्रह गर्नु भयो । उहाँले सेजको सफल संचालनका लागि सरकारले सेज भित्र उद्योग स्थापना गर्नेहरुका लागि जग्गा भाडा दर न्युन गर्नुपर्ने, निर्यातको प्रतिशत नतोकिनु पर्ने र उक्त क्षेत्रभित्र उद्योग स्थापना गर्न चाहने उद्योगीलाई उद्योग स्थापनाका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियागत विषय एक ठाँउबाट मात्र गर्ने गरि One Door System को अवधारणा लागु हुनु पर्ने कुरामा मन्त्री रिजालको ध्यानाकर्षण गराउनु भयो ।
कार्यक्रममा मधेश प्रदेशका पूर्व खानेपानी तथा उर्जा मन्त्री ओमप्रकाश शर्मा, वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष प्रदीप केडिया, अशोक कुमार बैद्य, बिजय सरावगी लगायतले हालको परिवेशमा उद्योग तथा कलकारखाना चलाउनु धेरै कठिनाई भइरहेकोले उद्योग वाणिज्य मैत्री नितिगत ब्यवस्था हुनु पर्ने तथा भारतबाट गहुँ तथा धान आयातमा लगाइएको परिमाणात्मक बन्देज हटाईनु पर्ने, आईसिपीको शुल्क, तेश्रो मुलुकबाट आयातित मिल मेशिनरीको पार्टपुर्जा भारतबाट आयात गर्न पाउने व्यवस्था, औद्योगिक क्षेत्रमा अस्पताल तथा बिद्यालय, सिर्सिया नदी प्रदुषण नियन्त्रणकाबारेमा तर्फ मन्त्रीको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा जीतपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा, बारा उद्योग वाणिज्य संघका अध्यक्ष राज कुमार साह, प्रदेश सभासदस्य श्याम पटेल, वीरगंज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेपाली कांग्रेसका सभापति जनार्धनसिंह क्षेत्रीले आ आफनो धारणा राख्नु भएको थियो । वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरिप्रसाद गौतमले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।























