गैरकानुनि रुपमा सवारीचालक अनुमतिपत्र बाँड्ने पक्राउ


चैत २७,नेपालगञ्ज।
यातायात ब्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा देहायका ब्यक्तिहरुले देहाय बमोजिम कसुर गरेकोले निजहरुलाई देहाय बमोजिम सजायको मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र ३५ बमोजिम २०७७ चैत २६ गते विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले नवलपुर टुडे लाई जनाएकाे छ।
अख्तियारका अनुसार यातायात ब्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनीरुपमा रकम आर्जन गरेकाे ठहर गर्दै निम्न व्यक्तिहरूविरूद्ध मुद्दा दायर गरेकाे हाे ।
(क) तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पवन सुवेदीले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जबाट लिइएको दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्र सम्बन्धी लिखित परीक्षाको नतिजामा परीक्षा समितिको बैठक नै नबसी सदस्यहरुलाई भूमिकाविहीन बनाएको, परीक्षा समितिको अध्यक्षको हैसियतमा कार्य नगरी आफूखुसी मौखिक आदेशमा समेत उत्तरपुस्तिका परीक्षण गर्न लगाई लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको हुँदा निज पवन सुबेदीले परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजउपर भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
(ख) तत्कालीन शाखा अधिकृतद्वय सिताराम खनाल र डेकराज पोखरेलले यातायात व्यवस्था कार्यालय, भेरी अञ्चल, नेपालगञ्जबाट दुईपाङ्ग्रे सवारी चालक अनुमतिपत्रको लागि लिखित परीक्षाको उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशनसम्मको कार्यको जिम्मा पाएकोमा लिखित परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको हुँदा परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरुउपर भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।
(ग) तत्कालीन शाखा अधिकृत ध्रुवराज देवकोटा, नायब सुब्बा ललित बहादुर वली, नायब सुब्बा केशबराज डाँगी, नायब सुब्बा हुतराज पौडेल, नायब सुब्बा सतानन्द उपाध्याय (न्यौपाने), नायब सुब्बा अरुण कुमार गौतम, नायब सुब्बा धर्मदत्त चौलागाई, नायब सुब्बा डिलाराम खरेल, नायब सुब्बा ओम बहादुर बस्नेत, नायब सुब्बा गणेशमान आचार्य, नायब सुब्बा सावित्री पौडेल, खरिदार चन्द्रमणि नेपाली, खरिदार केशर कुमार चपाई, हलुका सबारी चालक ध्रुवराज अर्याल, प्रहरी सहायक निरीक्षक प्रकाश पुन र प्रहरी जबान ओम प्रसाद देबकोटाले लिखित परीक्षाको परिणाम फेरबदल गरिएका उत्तरपुस्तिकाहरुको सनाखत गरी परीक्षण गरेको हो भनी निजहरुले स्वीकार गरेकाले निजहरुले अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गर्ने कार्यमा प्रत्यक्ष संलग्न रहेको देखिएको हुँदा निजहरुबाट परीक्षामा अनुत्तीर्ण भएका परीक्षार्थीहरुको नतिजा फेरबदल गरी भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको पुष्टि हुन आएकोले निजहरु उपर भ्रष्टाचार निबारण ऐन, २०५९ को दफा १३ बमोजिम सजाय हुन मागदाबी लिइएको अख्तियार दुरूपयाेग अनुसन्धान आयाेगले नवलपुर टुडे लाई जनाएकाे छ ।























