अर्थ, तस्कर, मधेश प्रदेश, मुख्य समाचार, समाचार

वीरगंज भन्सार कार्यालय अगाडीबाटै कुख्यात तस्करहरुको अवैध धन्दा सुचारु

रंजित चौरसिया
२०७९ चैत्र १२ | मध्यान्ह ०९:१२ बजे

वीरगंज १२ चैत्र । पर्सा जिल्लाको मात्र नभई मुलुककै आर्थिक राजधानीको साथै मुख्य प्रवेशद्वारको रुपमा रहेको वीरगंज भन्सार कार्यालय अगाडीबाट कुख्यात तस्करहरुले आफ्नो अवैध धन्दा सुचारु गरेका छन । नेपाल र भारतको सीमा हुदै अवैध धन्दा गर्ने गिरोहहरु वीरगंज भन्सार कार्यालय अगाडीबाटै सुचारु गरेका हुन ।

नेपाल र भारतको सीमा नाकामा खटिने सशस्त्र प्रहरी र शान्ति सुरक्षाका साथै राजस्व छलि नियन्त्रण गर्ने नेपाल प्रहरीको ग्रिन सिग्नल पाए पश्चात कुख्यात तस्करहरु सलबलाउन थालेका छन । नेपाल र भारतको सीमामा पर्ने मितेरी पुलदेखि रजतजन्ती चौकसम्म नेपाल प्रहरी र सशस्त्र प्रहरीको ४(चार) ठाउमा चेक प्वाइन्ट रहेपनि अवैध धन्दामा सकृय तस्करहरु आफ्नो कारोवारलाई सहजै प्रगति गर्न सफल भएका छन । कारण हो, नेपाल प्रहरी र सशस्त्र प्रहरीको आर्थिक प्रलोभन ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी आर्थिक प्रलोभनमा पर्नसाथ तस्करहरु मात्र सल्बलाएका छैन्न प्रति दिन करोडौको मालसमानहरु अवैध तरिकाले नेपाल भित्रयाउन सफल भएका छन । यति मात्र नभई वीरगंज भन्सार कार्यालयमा स्थापना भएको बोर्डर आउट पोष्ट भन्सार, प्रहरी चौकी ईनर्वा, वडा प्रहरी कार्यालय बिर्ता, जिल्ला प्रहरी कार्यालय पर्सा र सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट समेत सादा पोशाकका साथै क्यूआरटी टोली परिचालन भएको पाइन्छ । तर तस्करहरुको संजाल, सादा पोशाकका साथै क्यूआरटी टोलीहरुलाई समेत लोभ्याउन सफल भएकै कारण तस्करी धन्दा मौलाउदै गएको हो ।

वीरगंज भन्सार कार्यालय अगाडीबाटै कुख्यात तस्कर मुख्तार, मुन्ना, भोला, तबारक, शम्भु लगायत दर्जनौ तस्करका गिरोहहरु सकृय रहेका छन । तर प्रहरी राजस्व नियन्त्रणको सट्टा आफ्नो कमाई खाने थल्लोको रुपमा तस्करी धन्दालाई रुपान्तरण गर्न सफल भएका छन । तस्करीको रकममा प्रहरी प्रशासनका कर्मचारीहरु साझको समयमा रमाउने गरेको समेत प्रमाण फेला परेको छ ।
बिगत लामो समयदेखि सादा पोशाकमा खटिएका प्रहरीहरुको सरुवा नहुदा पनि तस्करी धन्दा मौलाउदै गएको बुझिन्छ । समयमा नै प्रहरी संगठनका उच्च अधिकारीहरुले तस्करी धन्दाको बिषयमा निगरानी नबढाए अगामी दिनमा वीरगंज भन्सारबाट उठ्ने राजस्वमा समेत कमि आउने दुईमत नरहेको देखिन्छ ।

कमेन्टहरु