देश

भक्तपुरकाे जात्रा अबधिभर खानेपानीकाे ब्यबस्था KUKL ले गर्ने

नवलपुर टुडे
२०७७ चैत्र २६ | मध्यान्ह ०६:१२ बजे

चैत २६,भक्तपुर ।
नजिकिँदै गरेको भक्तपुरको प्रसिद्ध बिस्का जात्रा व्यवस्थित र शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न भक्तपुर नपा को आयोजनामा बिहीबार नगरपालिकामा बोलाइएको सरोकारवालाहरूको बैठकले महत्वपूर्ण निर्णयहरू गरेको छ ।

नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले भैरवनाथको रथ दिनको २ बजे तान्न सुरु गर्ने र उक्त रथ टौमढीबाट पूर्वमा बढीमा बुलुबुलु हिटी (सुकुलढोका) र पश्चिममा बढीमा नासमनासम्म मात्र लग्न तथा रथमा जुुसी बजु, कर्माचार्य, तलेजुको मूल पुजारी, गुठी नाइके, भैरव नाइके, कर्मी नाइके, चौगुठीलगायत तोकिएका आवश्यक व्यक्तिहरू बाहेक अन्य व्यक्तिहरू अनधिकृत रुपमा नचढ्न अनुरोध गर्ने निर्णय गर्यो ।

जात्रा अवधिभर भक्तपुर नगरक्षेत्रमा खानेपानीको आवश्यक व्यवस्था मिलाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेड, भक्तपुरलाई, विद्युत प्रसारण सुचारु गर्न विद्युत प्राधिकरण, भक्तपुर वितरण शाखा र टेलिफोन र इन्टरनेट सेवा सुचारु गर्न नेपाल टेलिकम, भक्तपुरलाई जिम्मा दिने निर्णय गर्यो ।

जात्रा अवधिभर भक्तपुर नगरका विभिन्न क्षेत्रमा आकस्मिक स्वास्थ्य उपचारको लागि स्वास्थ्य शिविर व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्र, च्याम्हासिंह, यहाँका विभिन्न अस्पतालहरू र नेपाल रेडक्रस सोसाइटी, भक्तपुरलाई जिम्मा दिने निर्णय बैठकले गर्यो ।

यो वर्ष चैत्र २८ गते द्यो क्व“बिज्याइगु जात्रास“गै पशाःचर्हे पनि परेको अवस्थामा उक्त दिन भैरवनाथ मन्दिरभित्र पूजाआजा मात्र गर्ने र मन्दिर अगाडिको भैरवनाथ र वीर बेताल रहेको स्थानमा बली दिने कार्य गराउने निर्णय ग¥यो ।

बैठकले गुठी संस्थान भक्तपुरका कार्यालय प्रमुख आनन्दप्रसाद कर्माचार्यबाट प्रस्तुत २०७७ चैत्र २८ गतेदेखि २०७८ वैशाख ५ गतेसम्मको जात्राको कार्यसूची पारित गरेको छ ।

बैठकमा नगरपालिकाका जनप्रतिनिधिहरू, गुठी संस्थान प्रमुख, सुरक्षा निकायका प्रतिनिधिहरू, विद्युत प्राधिकरण, नेपाल टेलिकम, का.उ.खा.लि. भक्तपुरलगायतका कार्यालयका प्रमुखहरू, जात्रासँग सम्बन्धित गुठी नाइके, भैल नाइके, जुसी बजु लगायतको उपस्थिति थियो ।

कमेन्टहरु