राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्रााष्ट्रिय विमानस्थल ९७ प्रतिशत सक्यो, संचालनमा आउने आधा बर्ष कुर्नु पर्ने


भैरहवा । भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्रााष्ट्रिय विमानस्थलको भौतिक निर्माण कार्य ९७ प्रतिशत सकिए पनि विमानस्थल सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । उपकरण जडानको लागि अझै केही समय पर्खिनु पर्ने भएको छ ।
लक्ष्य बमोजिमको अन्तिम पटक थपिएको म्याद अनुसार २०७८ साल असार १ गतेसम्ममा विमानस्थल सञ्चालनमा आउनु पर्ने थियो । तर कोरोना महामारीले प्रत्यक्ष असर पार्दा निर्माण कार्य केही पर धकेलिएको हो । ६ अर्ब २२ करोड ५१ लाख रुपैयाँको लागतमा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थल अत्याधिक जग्गा अधिग्रहण गरी निर्माण गरिएको विमानस्थलमा मुआब्जाको लागि मात्रै ३० अर्ब भन्दा बढी रकम खर्च भएको छ ।
पछिल्लो समय काम गर्ने दक्ष प्राविधिकहरु कोरोनाको कारण चीनमा रोकिनु र तेस्रो मुलुकबाट ल्याउनुपर्न लाईटिङ लगायतका उपकरणहरुको कारण काममा ढिला भएको थियो । सन २०१४ को डिसेम्बरबाट सुरु भई २०१७ को डिसेम्बरमै सम्पन्न गर्ने भनिएको निर्माणको काम चार बर्षको अवधि थप्दा समेत पूर्ण हुन सकेको छैन ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्दा स्तरीय र बढी क्षमताको भनिएको यो विमानस्थलमा एक पटकमा एउटा वाइडबडी, एउटा न्यारोबडी र दुईवटा साना जहाज पार्क गर्न मिल्ने अन्तर्राष्ट्रिय पार्किङ एप्रोन निर्माण गरिएको छ । आन्तरिक उडानका लागि छुट्टै पार्किङ एप्रोन रहनेछ । काठमाडौंमा प्राविधिक कारणले उडान अवतरण प्रभावित भयो भने आकस्मिक अवतरणका लागि यो विमानस्थल विकल्प बन्न सक्नेछ ।
निर्माणको कार्यमा अब धेरै समय खर्चिनु नपरे पनि यस्को बाह्य क्षेत्र, उपकरण जडानको फिनिसिङ्गको लागि ३ महिनाभित्रैमा सकिए पनि उडानको प्रक्रियागत चरणको लागि समेत ३ महिना खर्चिनुपर्नेछ ।
विमानस्थल निर्माणको काम भौतिक काम हो र यसको प्राविधिक काम सहित परीक्षण उडानको लागि रुट निर्धारण लगायत सञ्चालनका निम्ति ग्लोबल टेण्डर गर्ने सम्मको तयारी गर्न अझ थप केही समय लाग्ने बताइएको छ । यसकारणले यो विमानस्थल संचालन हुन सबै प्रक्रिया सकेर ६/१० महिना भन्दा बढी लाग्ने अनुमान गरिएको छ ।
देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन विमानस्थलको विकल्पको रुपमा बनाउन लागिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई मध्येपूर्वी क्षेत्रका उडानका लागि प्रयोग गर्ने गरी योजना बनाइएको बताइएको छ ।























