बेप्त्ता ७ बालिकाहरु भारतमा फेला परे


चैत १८, महाेत्तरि।
घाँस काट्न जाँदा हराएका महोत्तरीका ७ जना बालिका तथा किशोरी भारतमा फेला परेका छन् । महोत्तरीको भङ्गाहा नगरपालिका–८ धर्मपुरबाट मंगलबार ७ जना बालिका तथा किशोरीहरु हराएका थिए । घरबाट घाँस काट्न भनेर निस्किएका उनीहरु १० देखि १८ वर्ष उमेर समूहका थिए ।
भङ्गाहा–८ धर्मपुरका १० वर्षीयाद्वय रञ्जना पासवान र सीमा पासवान, १३ वर्षीया ज्योति पासवान, १५ वर्षीयाद्वय रिया पासवान र रचना पासवान एवम् १८ वर्षीया नगिना पासवान र अस्मिता पासवान घाँस काट्न मंगलबार घरबाट निस्केका थिए । साँझसम्म पनि घर नफर्किए पछि परिवारका सदस्यहरुले खोजीका लागि प्रहरीमा खबर गरेका थिए ।
प्रहरीले सातै जनाको अपहरण गरिएको हुनसक्ने आशंकामा खोजी शुरु गरेको थियो । प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले सातै जनालाई भारतीय प्रहरीको सहयोगमा बिहारको सितामढीबाट उद्धार गरिएको जानकारी दिए । डीआईजी सिंहका अनुसार सबै बालिका/किशोरी सकुशल छन् । उनीहरु कसरी भारत पुगे भन्ने विषयमा अनुसन्धान भइरहेको सिंहले बताए । भारतमा फेला परेका सातै जनालाई नेपाल ल्याउन अहिले प्रहरी र अभिभावकहरु भारत गइरहेको डीआईजी सिंहले जानकारी दिए ।























