देश

इतिहास, सांस्कृतिक र आध्यात्मिक महत्व बारे “खुवालुङ” छोटकरीमा सबैले पढ्न जरुरी

जगत ठाडा मगर
२०७७ चैत्र ९ | मध्यान्ह ०९:१२ बजे

जोहन राई

काठमाडौ । ढुंगे युगको अन्त्य संगै मानव विकासको स्वर्णिम युग र क्रान्तिहरु हुँदै कृषि, औद्योगिक संगै वर्तमान प्राविधिक (बैज्ञानिक) युग सम्ममा मानव विकासले हजारौं वर्ष पार गरेर आजको अवस्थामा आइपुगेका छौँ । तर “खुवालुङ” संग जोडिएको कुरा मुन्धुमी इतिहास, आध्यात्मिक, साँस्कृतिक, इतिहास र सभ्यता मानव विकासको क्रम भन्दा पनि धेरै हजार वर्ष अघिको मानिन्छ । यो मानेमा जतिबेला धर्ती र प्रकृतिको उत्पति भयो त्यही समय देखिको कुरासँग जडित छ खुवालुङ ।

मानव सभ्यताको विकास भई नसकेको अवस्था थियो,
चारभाई किरातीहरू मध्ये तिन भाईहरू यही ‘खुवालुङ’ लाई साक्षी राखी कोशी नदिको तिरैतिर उभो (पहाडी क्षेत्रमा) लागेको हुनाले सुनकोशी, तामाकोशी, दुधकोशी, अरूण, तमोर नदीको तिरैतिर किरात राई, किरात सुनुवार, किरात लिम्बुहरूले बसोबास गर्न थाले र केही शताब्दी पछि किरात सभ्यताको विकास भएको तथ्य पाईन्छ । तर, कान्छा भाईले त्यो ‘खुवालुङ’ लाई तर्न नसक्दा उसको बसोबास मधेस (तराई) तिर रहन गयो र कालान्तरमा थारू, दनुवार आदि समुदायको रूपमा वाहाँहरूको विकास हुँदै गएको पाईन्छ ।

वर्तमानमा पनी यस प्रकारको धेरै किंवदन्ती र किराती लोककथाहरूमा ‘खुवालुङ’ को महिमा जीवित रहेको पाईन्छ । किराती मुन्धुम भित्र प्रयोग गरिने रिसियाहरूमा यस ‘खुवालुङ’ उच्चारणमा आई रहन्छ । किराती राई जातिको होमे/विजुवा– (नाक्छों, धामी, फेदाङमा) माङपाहरूले मृत आत्मालाई बाटो लगाउँदा यस ‘खुवालुङ’ को विशेष गरी उल्लेख गरेको पाईन्छ । अर्थात्, नाक्छों, धामीले – तिमी यही खुवालुङलाई प्रवेश द्वार मानी उभो लाग्नु र पवित्र स्थानमा रहेको पित्री पुर्खाहरूले बास बस्ने ठाँउमा गएर बास बस्नु भन्दै मुन्धुमबाट फलाक्दै बाटो लगाउँद छन् । यही प्रक्रिया विभिन्न भाषिक राईहरूले आ-आफ्नो भाषामा फलाक्ने गर्दछन् । यस अर्थमा ‘खुवालुङ’ त्यो पवित्र स्थल हो जहाँबाट किरात राईहरूको पित्री पुर्खाहरूले आफ्नो बास स्थानलाई पछ्याउदै जान्छन् ।

किराती मौलिक धर्म र संस्कारमा स्वर्ग वा नर्कको कल्पना गरिएको छैन । किरातिहरुले स्वर्गको नागरिकता र प्रमाणपत्र बाँड्दै बकम्फुसे ढोँगी कार्यको प्रचारप्रसार गर्दैनन् । मान्छे मरेपछि स्वर्ग वा नर्क जान्छ भन्ने मान्यतालाई किराती समुदायले मान्दैन । किराती समुदायमा मान्छेको मृत्युपछि उसको आत्मा कुल पित्री भएर आफ्नो उत्पति उद्गम् थातथलोमा बसोबास गर्दछ । र उनीहरूलाई वर्षमा दुई पटक बैशाख पुर्णे र मंसिरे पूर्णिमाको छेक पारी आ-आफ्नो घरको पवित्र स्थल तिन चुल्हामा पुकारिन्छ र उनै कुलपित्रहरूलाई चुल्हामा पुकारी रहँदा त्यही ‘खुवालुङ’ को मार्ग भई आउने र चुल्हामा बास गर्ने गर्दछन् ।

पुजा आज सके पछि पुन: तिनी कुलपित्रीहरूलाई मुन्धुम रिसिया मार्फत फलाक्दै त्यही ‘खुवालुङ’ को बाटो आफ्नो पित्रस्थलमा बसोबास गर्नकोलागी विदा गरिन्छ । एवं प्रकारले प्रष्ट हुन्छ कि किरात राईहरूको धार्मिक मान्यता, सांस्कृतिक र आध्यात्मिक पक्षलाई सम्पन्न गर्नमा ‘खुवालुङ’ को कस्तो महत्वपूर्ण स्थान रहेको छ ।सिंगो किरात समुदायको संस्कृति र अस्तित्व मेटाउने अधिकार राज्यको कुनै तहमा रहेको व्यक्तिहरूलाई छैन ।

किरात सभ्यता र किरात इतिहास संग जोडिएको “खुवालुङ” किरातीहरुको मात्रै होइन नेपाल र सम्पुर्ण नेपालीहरुको साझा सम्पदा हो । हामी किरातीहरु आफ्नो अस्तित्व र आस्था मेटाउन दिंदैनौँ जबर्जस्ति गरे हामी कडा प्रतिरोध गर्ने छौँ । राष्ट्रियता भूगोल संग जोडिएको भए पनि भुगोल आकारले ठूलो सानो होला तर राष्ट्रियता ठूलो सानो हुँदैन ।

यस विषयमा बोल्नु पर्ने जातीय संघ-सस्थाहरु दाँत चपाएर बोले जस्तो गर्दैछन् । आदिवासी जनजाति महासंघ भन्ने सस्था कता छ ? किरात राई यायोखा खै कता हो ? किरात याक्थुङ चुम्लुङ खै कता ? सुनार कोइच संस्था कता छ ? अन्य जातिय संघ-सस्था खै ? के यो जातीय संघ-सस्थाहरु टाउकेहरुको भोट बटुल्ने भोट बैंक मात्रै हो ?

खुवालुङको आस्थासंँग जोडिएको किरातीहरु जो सभामुख, मन्त्री, मुख्यमन्त्री, आयुक्तादेखी पार्टी सदस्यसम्मको अनेक हैसियतमा छन् उनिहरुले आफ्नो पार्टीको नेता र आफू बसेको स्वार्थको कुर्सी भन्दा पर आफ्नो समुदायको आफ्नो संस्कृति माथी थिचोमिचो भैरहँदा खै बोलेको ? भोलि तिमीहरूलाई आफ्नै पुस्ताले प्रश्न गर्दा त्यसको उत्तर दिन सक्षम छौ ?

विनम्र अनुरोध छ ! देश विदेशमा छरिएर रहनु भएको सम्पुर्ण किरात दाजुभाइ दिदिबहिनी आमा बुवा सबै-सबैले आवाज उठाऔँ । साथै यस विषयमा सम्पुर्ण नेपाली नागरिकहरुको पनि ध्यानाकर्षण होस । खुवालुङलाई धार्मिक पर्यटनक्षेत्रको रूपमा विकास गर्दै आम स्थानीय बासिन्दाहरु, स्थानीय सरकार, प्रदेश सरकार, संघिय सरकार, विभिन्न संघ सस्था सरोकारवाला, सबैको ध्यानाकर्षण होस र सबैको एकताबाट खुवालुङलाई संरक्षण गरि तपाईं हाम्रो, हाम्रो देशको साझा सम्पदाको संरक्षण गर्न हातेमालो गरि अगाडि बढौँ ।

कमेन्टहरु