दुई दिने राजकीय भ्रमणका लागि राष्ट्रपति भण्डारी बंगलादेश प्रस्थान


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशका राष्ट्रपति महम्मद अब्दुल हमिदको २ दिने मैत्रीपूर्ण निमन्त्रणामा आज बंगलादेशको राजधानी ढाका प्रस्थान गर्नुभयो । नेपाल एअरलाइन्सको चार्टड विमानबाट आज उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले विदाई गर्नुभयो ।
विदायी समारोहमा मन्त्रिहरु, संवैधानिक नियोगका प्रमुखहरु तथा उच्च पदस्थ अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो । त्यसबखत राष्ट्रपति भण्डारीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सलामी दिएको थियो । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहको अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति भण्डारी आज त्यसतर्फ जानुभएको हो ।
राष्ट्रपति भण्डारीको आजै बङ्गलादेशका राष्ट्रपति हमिदसँग दुईपक्षीय भेटवार्ता हुनेछ भने प्रधानमन्त्री शेख हसिनालगायतले राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।-























