प्रचण्ड – माधव पक्ष नेकपाको २७५ केन्द्रीय सदस्य सहित निर्वाचन आयोग जाँदै


काठमाडौ । फाल्गुन २० बिहिवार, नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड – माधव पक्ष आज फेरि निर्वाचन आयोग जाने भएको छ । पार्टी कार्यालय पेरिसडाँडामा निर्वाचन आयोग जाने तयारी भइरहेको बताएको छ । नेकपाको आधिकारिता विवाद टुंग्याउन निर्वाचनले ढिलो गरेको आरोप लगाई रहेको यो समूह फेरि निर्वाचन आयोग जान लागेको हो ।
पार्टीको आधिकारिकता दाबीका निम्ति २ सय ७५ जना केन्द्रीय सदस्य नागरिकता र पार्टीको परिचय पत्रसहित आयोग जान लागेको केन्द्रीय सदस्य गंगालाल तुलाधारले नवलपुर टुडेलाई जानकारी दिए । प्रचण्ड – माधब पक्षका २ सय ७५ जना केन्द्रीय सदस्य राजधानीमा उपलब्ध रहेको बताए ।
आइतवार दिउँसो प्रतिनिधिसभा बस्दैछ तर निर्वाचन आयोगले अहिलेसम्म नेकपा विवादमा कुनै पनि निर्णय गरेको छैन । नेकपा विवादबारे निर्वाचन आयोगले ढिलाइ गरेपछि आफ्नो पार्टी आधिकारिता भएको र तत्काल निर्णय गर्न दवाव दिन उक्त समूह बहुमत केन्द्रीय सदस्यको नागरिकता र हस्ताक्षर सहितको कागजपत्र लिएर आयोग जान लागेको हो ।
व्यवहारिक रुपले विभाजित भइसकेका ओली र प्रचण्ड – माधव समूह आधिकारिकताका लागि निर्वाचन आयोगलाई पर्खिरहेका छन् । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आफूहरूले आधिकारिकता पाउनु पर्ने प्रचण्ड – माधव समूहको दाबी छ । साबिकको नेकपाको ४ सय ४१ केन्द्रीय सदस्य मध्ये बहुमत सदस्य आफ्नो समूहमा रहेकाले आधिकारिक नेकपा र चुनाव चिह्न आफ्नै हुनुपर्ने त्यस समूहको दाबी छ ।
प्रधाननमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेपछि नेकपा व्यवहारिकरुपमा विभाजन भएको हो । तर, कानुन मान्यता भने दुबै समुहले पाउन सकेको छैन ।






















