कामचलाउ प्रधानमन्त्री ओलीले विप्लवलाई महासचिव देखि उपप्रधानमन्त्रीसम्मको प्रस्ताव गरेको खुलासा


काठमाडौं । सरकारसँग अचानक वार्तामा आउन सकारात्मक भएका प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एक पछि अर्को आश्चर्य चकित पार्ने कदमहरु चाल्ने संकेतहरु मिलेको छ । कामचलाउ ओली सरकारले कठोर नीति लिए पनि विप्लव वार्ताका लागि तयार हुनुमा कुनै खास राजनीतिक प्रस्तावले पनि काम गरेको छ ।
एक स्रोतका अनुसार विप्लवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खटाएका नेपाल कम्युनिष्ट पार्टीका नेताहरु मार्फत पार्टी महासचिवको प्रस्ताव गरिएको छ । उनी ओली समूहको नेकपा सँग एकीकरण गर्न आएमा महासचिव बनाउने प्रस्ताव पुगेको जनाएको छ ।
प्रतिबन्धित विप्लवलाई सरकारमा उपप्रधानमन्त्री सहित महत्वपूर्ण मन्त्रालयको समेत प्रस्ताव पुगेको सरकार पक्षको दाबी छ । तर त्यसबारे विप्लव पक्षबाट भने कुनै जवाफ आएको छैन ।
जनयुद्ध लड्दाका तत्कालिन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट दूरी राखेर विप्लव ओलीसँग नजिकिनुलाई चासोका साथ हेरिएको छ । विप्लव शासकीय स्वरुप समेत फेर्नुपर्ने पक्षमा छन् । ओलीको पछिल्लो भूमिका त्यसैतर्फ हुने संकेतहरु मिल्न थालेको छ । यसैगरी, ८ फागुनमा अकस्मात् प्रेस विज्ञप्ती जारी गरी सरकारसँग संवाद र वार्ताका लागि सकारात्मक रहेको बिप्लवले बताएको छ ।
विप्लव संवादका लागि सकारात्मक भएको विज्ञप्ति आउनु अघि उनी नेतृत्वको नेकपाले तीन कम्युनिष्ट घटक सँग २९ माघमा रणनैतिक मोर्चा गठन गरी घोषणा गरिसकेको छ । मोर्चामा मोहन वैद्य किरण, ऋषि कट्टेल र आहुती नेतृत्वको कम्युनिष्ट पार्टी छन् ।
२० माघमा खानेपानी मन्त्री मणि थापाले नख्खु कारागार पुगी विप्लव पक्षका नेता हेमन्त प्रकाश ओलीलाई भेटेका थिए । सुदर्शन भनिने ओली सँगको भेट वार्ताको वातावरण बनाउने उद्देश्यले थियो । यो भेटले पनि वार्ताको माहोल तयार गर्न भूमिका खेलेको जानकारहरु बताउछ्न ।























