राजनीति

कारवाहीको निर्णय खारेज गर्न डा. बाबुराम भट्टराईको माग

नवलपुर टुडे
२०७९ असार ३२ | बिहान १०:०३ बजे

काठमाडौं, असार ३२ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफू सहितका ९ जना नेतामाथि गरिएको कारवाहीको भत्सर्ना गर्दै निर्णय खारेज गर्न माग गरेका छन् ।

जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका ९ जना नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रबार राति विज्ञप्ति जारी गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गरेका छन् । अध्यक्ष यादवले भने पार्टीको विधि, विधान र पद्धतिअनुरूप नचलेकाले उनीहरूलाई कारबाही गरिएको बताएका छन् ।

जसपाका नेता मोहम्मद इस्तियाक राईले भने, ‘पार्टीको बैठक अध्यक्षले बोलाउने हो, अर्को पक्ष (बाबुराम भट्टराई पक्षका नेता) बैठकमा सहभागी नहुनु उहाँहरूको इच्छा हो, पार्टी सञ्चालन प्रक्रिया पार्टीको राजनीतिक दलको विधानअनुरूप हुने हो ।’

डा.भट्टराईले पार्टी रूपान्तरणका लागि अनवरत रूपमा खटिएका केन्द्रीय सदस्यलगायत सबैलाई पार्टी पुनर्गठनका लागि पनि अपिल गरेका छन् । ‘हामी यस कारबाहीको घोर भत्र्सना गर्दै कारबाहीको निणर्य खारेज गर्दछौं । यो परिस्थितिमा अब हाम्रोसामु पार्टी पुनर्गठनको विकल्प रहेन,’ विज्ञप्तिमा भनिएको छ ।

पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, सांगठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैली विरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको भट्टराईको भनाइ छ ।

उनले संघीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गर्दा पनि पार्टी अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरी अवैधानिकरूपमा संघीय परिषद् अध्यक्ष लगायत केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको आरोप लगाएका छन् ।

भट्टराई पक्षको असार २८ र २९ गते काठमाडौंमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो ।

कमेन्टहरु