बालेनलाई प्रधानमन्त्री देउवाले भने – तपाईंले चमत्कार नै गर्नुभयो


काठमाडौं, जेठ १८ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन शाहबिच भेटघाट भएको छ । बुधबार प्रधानमन्त्री निवास पुगेर शाहले प्रधानमन्त्री देउवालाई भेटेका हुन् ।
प्रधानमन्त्री देउवाले मेयरमा निर्वाचित भएकोमा शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका थिए । ‘तपाईंले चमत्कार गर्नुभयो । म खुसी छु । पाँच वर्षको कार्यकालमा हाम्रो पूर्ण समर्थन हुनेछ,’ प्रधानमन्त्री देउवाको भनाइ उद्धृत गर्दै मेयर शाहका सहयोगी कुमार व्यञ्जनकारले भने, ‘काम पर्दा मलाई २४ घन्टा नै सम्झन सक्नुहुनेछ । कार्यपालिकामा नि कांग्रेसको बहुमत छ । विकासको काममा सहयोग हुनेछ । फोहोर व्यवस्थापनको लागि जे-जे उपाय छ लगाउनुहोला । केन्द्र सरकार, मन्त्रालय, सडक विभाग सबैबाट सहयोग हुनेछ ।’
बालेनले प्रधानमन्त्री देउवासँग आफूलाई विश्वास र साथ दिन आग्रह गरेका थिए । उनले भने ‘विश्वास र साथ दिनुहोला, महानगर बनाउने काम मेरो भयो ।’























