राजनीति

पार्टीभित्रको अन्तर्घातले चुनावमा हार व्यहोर्नुपर्‍यो : अध्यक्ष ओली

नवलपुर टुडे
२०७९ जेष्ठ ११ | मध्यान्ह ०६:०२ बजे

काठमाडौं, जेठ ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अन्तर्घात‍का कारण स्थानीय तह चुनावमा हार व्यहोर्नु परेको बताएका छन् । बुधबार बानेश्वरस्थित संसद् भवनमा बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले अन्तर्घातकै कारण चुनावमा पार्टीले धेरै ठाउँमा हार व्यहोरेको बताएका हुन् ।

उनले उपप्रमुख जित्दा प्रमुख जित्न नसक्नु पार्टीभित्रबाटै अन्तर्घात भएको भन्दै यो विषयमा समीक्षा गर्नुपर्ने बताए । ओलीको भनाई उदृत गर्दै बैठकपछि एमाले सांसद शेरबहादुर तामाङले भने, ‘पपुलर मत त पायौं । पार्टीभित्रै केहि समस्या भयो । महानगर र उपमहानगरमा उपमेयर जित्ने । तर, मेयरमा हार्ने भयो । एमालेमा मेयरमै भोट नहाल्ने कुरा खतरनाक ढंगले देखा पर्‍यो । यसबारे समीक्षा गर्नुपर्ने देखिन्छ भनेर अध्यक्षज्यूले भन्नुभयो ।’

यस्तै, बैठकमा ओलीले गठबन्धन सरकारले ल्याएको नीति तथा कार्यक्रमबारे तथ्यपरक ढंगले संसदमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिएको ओलीको भनाई उदृत गर्दै एमाले सांसद भीम रावलले बताए ।

कमेन्टहरु