देश दुर्घटनाबाट बचाउन गठबन्धका उम्मेदवारलाई जिताउन जरुरी : प्रचण्ड


कैलाली, वैशाख २६ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धनले देशलाई ठुलो दुर्घटनाबाट बचाएको बताएका छन् । धनगढीमा आज (सोमवार) सत्ता गठबन्धनले आयोजना गरेको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै उनले भने, ‘कोही कसैले भ्रममा नपरे हुन्छ, गठबन्धनले देशलाई ठुलो दुर्घटनाबाट बचाएकै हो ।’
सत्तारुढ वाममपन्थी र लोकतान्त्रिक शक्तिको मिलनबाट बनेको गठबन्धनले भोलिका दिनमा पनि देशलाई राजनीतिक दुर्घटनाबाट बचाउने विश्वास उनले व्यक्त गरे । गठबन्धनलाई सिध्याउन केही तत्त्व कुनै न कुनै रूपमा लागेको उनले बताए। ‘शेरबहादुर देउवा, मेरो र माधव नेपालको बीचमा असमझदारी बनाउन निकै ठुलो कसरत भइरहेको छ,’ उनले भने।
गठबन्धनको पक्षमा दृढताका साथ लागेको भन्दै उनले कांग्रेस सभापति देउवालाई धन्यवाद दिए। देशलाई दुर्घटनाबाट बचाउन सत्तारुढ गठबन्धनका उम्मेदवारलाई स्थानीय तह निर्वाचनमा जिताउन उनले मतदाताहरूलाई आग्रह गरे।






















