Opens in a new tab

राजनीति

नेकपाबाट विप्लव निष्काशित, संयोजकमा धर्मेन्द्र बास्तोला

नवलपुर टुडे
२०७९ बैशाख २१ | मध्यान्ह ०२:०१ बजे

काठमाडौं । नेकपाले पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई कारवाही गरेको छ। बुधबारदेखि चितवनमा जारी विशेष राष्ट्रिय भेलाले महासचिव विप्लवसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा‘प्रकाण्ड’लाई हटाउने निर्णय गरेको हो । पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली‘सुदर्शन’, धर्मेन्द्र बास्तोला‘कञ्चन’लगायतका पक्षको भेलाले विप्लवलाई महासचिववाट हटाउने निर्णय गरेको पार्टीका बास्तोला पक्षका एक केन्द्रिय नेताले जानकारी दिए।

पार्टीको बहुमत केन्द्रिय सदस्यहरुको बैठकले बास्तोलालाई संयोजक तोकेको छ। पार्टीका सल्लाहकार समिति अध्यक्ष असारे काकाले विप्लवलाई महासचिवबाट निष्कासन गर्ने प्रस्ताव पेश गरेका थिए । यसअघि विप्लवले वक्तव्य वाजी गरेको भन्दै बास्तोला र ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको थियो। गत बैशाख १२ मा धर्मेन्द्रले पार्टीको नीति विपरीत केन्द्रीय नेताहरूले नै चुनावमा उम्मेदवारी दिएको भन्दै त्यो फिर्ता लिन आहृवान गरेका थिए। त्यसपछि विवाद चर्किदै गएको हो।

बास्तोला र ओली स्थानीय चुनाव बहिष्कार गर्नुपर्ने पक्षमा छन् भने विप्लव स्वतन्त्र र देशभक्त उम्मेदवारलाई समर्थन गर्नुपर्ने रणनीतिमा छन्। विप्लव नेतृत्वको नेकपाको कपिलवस्तुमा फागुनमा भएको भेलाबाट सो पार्टी विभाजन उन्मुख छ।

कमेन्टहरु