गठबन्धनमा महानगरपालिकाको भागबन्डा मिल्याे


काठमाडौं, वैशाख ६ । सत्तारुढ गठबन्धनमा महानगरपालिकाको भागबन्डा मिलेको छ। आज (मंगलबार) दिउँसो बालुवाटारमा भएको गठबन्धनका शीर्ष नेताको बैठकले ६ वटा महानगरमध्ये कांग्रेसले तीनवटा र बाँकी तीनवटामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (पार्टी) ले एकएकवटा लिने सहमति गरेको एक नेताले बताए।
सहमतिअनुसार पोखरा महानगरपालिकाको नेतृत्व एकीकृत समाजवादीले पाउने भएको छ। सो पार्टीले पोखराको नेतृत्व नपाए गठबन्धन अगाडि बढ्न नसक्ने भनेर चेतावनी दिएका थिए। त्यहाँको नेतृत्व छाड्न नहुने भन्दै कांग्रेसले पनि जोडदारका साथ आवाज उठाउँदै आएको थियो।
माओवादी केन्द्रको भागमा भरतपुर महानगरपालिका परेको छ। पहिल्यैदेखि भरतपुर आफ्नो हुनुपर्ने भन्दै माओवादी केन्द्रले दाबी गर्दै आएको थियो। कांग्रेस पनि भरतपुर अरुलाई दिन नहुने पक्षमा थियो। दुवै पार्टीले भरतपुरको नेतृत्व पाउनुलाई प्रतिष्ठाको विषय बनाएका थिए। अन्ततः माओवादी केन्द्रकै भागमा भरतपुर परेको छ।
आज (मंगलबार) बिहान प्रधानमन्त्री देउवाले चितवन जिल्ला सभापति राजेश्वर खनाल र कास्कीका सभापतिमा किशोरदत्त बराललाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएर भेटेका थिए। उनले दुवै सभापतिलाई आआफ्नो जिल्लामा पर्ने महानगर नेतृत्वमा कांग्रेसले दाबी छाड्नुपर्ने भन्दै साेहीबमाेजिम अघि बढ्न निर्देशन दिएकाे जनाइएको छ।
जसपाले वीरगन्ज महानगरपालिकाको नेतृत्व पाउने भएको छ। सो महानगरको नेतृत्वका लागि गठबन्धनमा खासै विवाद थिएन। नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको नेतृत्व लिने सहमति जुटेको बैठकमा सहभागी एक नेताले जानकारी दिए। सहमतिको खाका मंगलबार साँझसम्म तयार हुने र त्यसपछि मात्र आधिकारिक रूपमा त्यसलाई सार्वजनिक गर्ने जनाइएको छ।






















