राजनीति

सत्ता गठबन्धन बैठक आज पनि बस्दै

नवलपुर टुडे
२०७९ बैशाख ६ | बिहान ०७:०१ बजे

काठमाडौं, बैशाख ६ । आसन्न स्थानीय तहको निर्वाचनमा महानगरपालिका र उपमहानगरपालिकाको भागबन्डा टुङ्गो लगाउन सत्ता गठबन्धन बैठक आज पनि बस्दै छ । सोमबार दुईपटक बसेको बैठक निष्कर्षविहीन बनेपछि गठबन्धनका शीर्ष नेताहरु आज फेरि बैठक बस्न लागेको हो । बैठक बिहान साढे ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ ।

सत्तारूढ नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) नेपाल, र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकाको टुङ्गो लगाउन सोमबार दिनभरको प्रयास असफल भएको थियो । तर, धेरै ठाउँमा सहमति नजिक पुगेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दाबी गरेका छन् ।

कार्कीले ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडासमेतको वस्तुगत स्थितिको बारेमा बैठकमा छलफल भएको र मंगलबार त्यसलाई अन्तिम रूप दिने सहमति गरिएको बताए । धेरै ठाउँमा सहमति नजिक पुगेकाले सकारात्मक ढंगले अघि बढनुपर्छ भन्नेमा गठबन्धनका सबै नेताहरू सहमत रहेको उनले बताएका छन् ।

कमेन्टहरु