एमाले र राप्रपा नेपालबीच चुनावी गठबन्धन, सूर्य चिह्नबाट चुनाव लड्ने सहमति

नवलपुर टुडे
२०७८ चैत्र ३० | मध्यान्ह ०३:१२ बजे

काठमाडौँ, चैत ३० । नेकपा (एमाले) र कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने भएका छन् ।
एमाले र राप्रपा नेपालबीच बुधबार भएको दुई पक्षीय वार्तामा स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने सहमति भएको हो । एमालेका स्थानीय विकास विभाग प्रमुख देवेन्द्र दाहाल र राप्रपा नेपालका स्थानीय निकाय परिचालन विभागका प्रमुख सुशिलकुमार श्रेष्ठले पाँच बुँदे सहमतिमा हस्ताक्षर समेत गरेका छन् ।
देशभरिका तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने एमाले र राप्रपा नेपालबीच भएको सहमतिपत्रमा उल्लेख छ । सहमति अनुसार राप्रपा नेपालका उम्मेदवारले सूर्य चिह्न लिएर नै निर्वाचनमा प्रतिस्पर्धा गर्ने भएका छन् ।























