माओवादीले भरतपुर र पोखरा पाउने, रेनु पुनः भरतपुर मेयरको उम्मेदवार हुने


चितवन । माओवादी केन्द्रले जितेको एकमात्र महानगरपालिका चितवनको भरतपुर महानगरपालिका माओवादी केन्द्रकै भागमा परेको छ । कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भरतपुर महानगरपालिका माओवादीलाई छाड्न तयार भएका हुन् ।
कांग्रेसले दोस्रोपटक भरतपुर महानगरपालिका माओवादी केन्द्रलाई दिन तयार भएको हो । यसअघि पनि भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको उम्मेदवार रेनु दाहाललाई कांग्रेसले सघाएर जिताएको थियो । यसपटक पनि माओवादी केन्द्रको तर्फबाट भरतपुर महानगरमा दाहाल नै दोहोरिने सम्भावना रहेको माओवादी स्रोतको दाबी छ । गठबन्धनमा रहेका दलहरुबीच यसअघि जसले जुन स्थानीय तह जितेको छ त्यो उसैले राख्ने र एमालेले जितेको ठाउँमा मात्रै भागवण्डा हुने गरी समझदारी भएको छ ।
कांग्रेसले भने ललितपुर र विराटनगर पाउने भएको छ भने जनता समाजवादी पार्टीले वीरगन्ज महानगर पाउने भएको छ । यस्तै एमालेले जितेको काठमाडौं र पोखरा महानगरपालिकामा भागबन्डा हुन बाँकी रहेको छ । यि दुई मध्ये काठमाडौं महानगर कांग्रेस र पोखरा महानगर माओवादी केन्द्रले पाउने सम्भावना रहेको छ । एकीकृत समाजवादीलाई भने उपमहानगर दिने तयारी भएको छ ।






















