राजनीति

राष्ट्रियसभा सदस्यमा मनोनीत नेता दाहालले लिए शपथ

नवलपुर टुडे
२०७८ चैत्र २९ | मध्यान्ह ०१:१२ बजे

काठमाडौं, चैत २९ । राष्ट्रियसभा सदस्यमा मनोनीत माओवादी केन्द्रका नेता नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मंगलबार सिंहदरबारमा एक कार्यक्रमकाबिच दाहाललाई शपथ गराएका हुन् ।

अध्यक्ष तिमिल्सिनाले सदस्य दाहाललाई संघीय संसद्को लोगो समेत प्रदान गरेका थिए । शपथपछि दाहालले देश र जनताप्रति गरेका प्रतिबद्धतालाई कानुनी र व्यावहारिक रूपमा कार्यान्वयन गर्न जोड दिने बताए । उनले समृद्ध नेपाल नारालाई साकार पार्न पनि प्रयत्न गर्ने र देशको राष्ट्रियतालाई आँच आउन नदिन डटेर लड्ने प्रतिबद्धता जनाए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दाहाललाई चैत २५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रियसभा सदस्यमा मनोनीत गरेकी थिइन् । सरकारले नेपालको संविधानको धारा, ८६ को उपधारा, (२) को खण्ड (ख) बमोजिम उनलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

कमेन्टहरु