चुनावी खर्चबारे सात दिनभित्र स्पष्टीकरण दिन शशांकलाई आयोगको निर्देशन


काठमाडौ । निर्वाचन आयोगले कांग्रेस केन्द्रीय सदस्य डा. शशांक कोइरालालाई चुनावी खर्चसम्बन्धी अभिव्यक्तिबारे सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।
कोइरालाले गत शनिबार एक कार्यक्रममा ०७४ को प्रतिनिधिसभा निर्वाचनमा आफूले ६ करोड खर्च गरेर निर्वाचन जितेको अभिव्यक्ति दिएका थिए, जसलाई लिएर आयोगले ‘नोटिस’ लिएको हो ।आइतबारदेखिको मितिले सात दिनभित्र स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको आयोग प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
नेपाल विद्यार्थी संघ इलाम–काठमाडौं सम्पर्क मञ्चले शनिबार गरेको कार्यक्रममा कोइरालाले भनेका थिए–
मैले तपाईंहरूलाई प्रश्न राखेँ, राजनीति किन गर्नुहुन्छ ? पैसा कमाउनका लागि ? यदि हो भने बिजनेस गर्नुस्, अरू काम गर्नुस् । देश, भावना र सामाजिक चिन्तन बोकेको मान्छेले पैसाको आकर्षणमा राजनीति गर्नुहुँदैन । मैले तीनचोटि नवलपरासी १ बाट चुनाव जितेँ । पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो । दोस्रोमा तीन करोड र पछिल्लो ०७४ चुनावमा ६ करोड पुग्यो । ल भन्नुस्– तपाईंहरू कोही मेरो क्षेत्रबाट चुनाव लड्न चाहनुुहुन्छ ? म छोडिदिन तयार छु । तपाईंले कम्तीमा ६–७ करोड खर्च गर्नुपर्छ ।
‘विभिन्न सञ्चारमाध्यममार्फत कोइरालाले दिनुभएको अभिव्यक्तिअनुसार ६ करोड रुपैयाँ खर्च भएको भन्ने आएकाले निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै त्यस विषयमा के–कसो भएको हो ? सात दिनभित्र आयोगमा जवाफ पठाउन ध्यानाकर्षण गराइएको छ,’ आयोगबाट सोमबार जारी विज्ञप्तिमा छ । उनी नवलपरासी– १ बाट निर्वाचित भएका थिए ।
०७४ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाखसम्म खर्च गर्न पाउने प्रावधान थियो । आयोगका अनुसार कोइरालाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो २१ लाख ७५ हजार खर्च भएको विवरण आयोगमा बुझाएका थिए । आयोग प्रवक्ता पौडेलले कोइरालाको जवाफका आधारमा आयोगले निर्णय गर्ने बताए ।






















