राजनीति, लुम्बिनी प्रदेश

नवलपरासीमा गठबन्धनमा असन्तुष्ट, कांग्रेसभित्रको दुई समूह हानथाप

नवलपुर टुडे
२०७८ चैत्र २८ | बिहान ०८:१२ बजे

नवलपरासी । पश्चिमनवलपरासीमा नेपाली कांग्रेसभित्रको दुई समूहको हानाथापका कारण सत्तागठबन्धन दलहरुबीच भागबण्डाको मोडल तयार हुन सकेको छैन ।

एमालेले केही साना दललाई साथमा लिएर जाने चुनावी रणनीतिका साथ अघि बढेको छ । सत्तारुढ दलहरू सबैले पालिकाको नेतृत्व दाबी गरेकाले अझैसम्म स्पष्ट खाका आएको छैन ।

७ वटा स्थानीय तह रहेको यो जिल्लामा गत स्थानीय तहको निर्वाचनमा धेरै स्थान नेपाली कांग्रेसले जितेको थियो । रामग्राम नगरपालिका, सुनवल नगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो । बर्दघाट नगरपालिका भने एमालेले जितेको थियो । पाल्ही नन्दन गाउँपालिका नेकपा माओवादी, प्रतापपुरमा कांग्रेस, सुस्ता गाउँपालिका एमालेले जितेको थियो । सरावल गाउँपालिकामा तत्कालीन मधेसी जनअधिकार फोरम (विजय गच्छदार) ले जितेको थियो । गच्छदार पार्टी नेपाली कांग्रेसमा आएपछि पदाधिकारीहरू नेपाली कांग्रेसमा आएका छन् ।

कांग्रेस बलियो रहेको यो जिल्लामा पार्टीभित्रकै दुई समूहले अहिले कमजोर बनेको छ । त्यही कारण पनि यहाँ ठोस निर्णय हुनसकेको छैन । भागबण्डामै अलमलिएका गठबन्धन दलहरूलाई आश्चर्यमा पार्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले चाहिँ गठबन्धनभन्दा बाहिर रहेका साना दलहरूसँग सहकार्य गरेर चुनावमा जाने रणनीतिमा लागेको छ ।

पश्चिमनवलपरासीमा प्रमुख प्रतिस्पर्धी कांग्रेस-एमाले हुन् । एमालेविरुद्ध गठबन्धनको तयारी भएसँगै कांग्रेसले विगतमा जितेका स्थानीय तह हत्याउन एमालेले साना दलहरूसँग तालमेलको तयारी थालेको हो । एमाले पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज वैजनाथ चौधरीले लोसपासँग रामग्रामसहित अन्य स्थानीय तहमा गठबन्धन गरेर पद बाँडफाँट गरी चुनाव लड्ने तयारी गरेको बताए ।

‘एमाले एक्लै चुनाव लड्न सक्षम छ । तर, आवश्यकताअनुसार विभिन्न पालिकामा गठबन्धनको तयारी पनि भइरहेको छ’, उनले नेपाल प्रेससँग भने । जनमुक्ति पार्टी, राष्ट्रिय जनमोर्चाको असन्तुष्ट पक्षसँग एमालेको छलफल भइरहेको छ ।

कांग्रेसमा आन्तरिक विवाद हुदा गठबन्धन जिल्लास्तरको बैठकले पालिकास्तरबाट आ-आफ्नो रिपोर्ट तयार पार्ने भनिएपनि आइनसकेको नेपाली कांग्रेस जिल्ला सभापति अर्जुन पोखरेलले बताए । उनका अनुसार नेपाली कांग्रेसभित्र पनि एक्लाएक्लै जाने कि भन्ने विषयमा धारणा आएकाले निष्कर्षमा पुग्न नसकिएको हो ।

विगतमा जितेको र अहिले पनि जनाधार बलियो भएको पालिकामा एक्लै जाने कांग्रेसको मनसाय छ । ती ठाउँमा गठबन्धनबिनै एक्लै जित्न सक्ने उसको आँकलन छ । जिल्लास्तरको संयन्त्र बनाए पनि पालिकाहरू सबै ठाउँमा सहकार्य नगरी आ-आफ्ना ढंगले तयारी गरेपछि गठबन्धनभित्रै समस्या देखिएको गठबन्धनका एक नेताले बताए ।

कांग्रेसका केही नेताले जिल्लाका सबै ठाउँमा गठबन्धन गरेर जानको लागि चासो देखाए पनि सबैको धारणा एउटै छैन । गठबन्धन गरेर जाने कि एक्लै जाने भन्ने अन्योलजस्तै देखिन्छ । जिल्ला सभापतिसहितको गठबन्धन दलहरूको बैठकले केन्द्रको मर्मअनुसार तल्लो तहको रिपोर्ट माग गरेको थियो ।

उता माओवादी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य घनश्याम यादवले गठबन्धन गर्ने कि नगर्ने भन्दा पनि पहिलो आफूहरूको र अरूको अवस्था पत्ता लाउने अनि त्यस आधारमा दुई-चार दिनभित्र कुनै निर्णयमा जाने बताए । उनले अहिले माओवादीले वार्डतहसम्म आफ्नो धरातल बुझ्ने काम गरेको बताए ।

यदि गठबन्धन भएमा माओवादी आफूले पहिला प्रमुख जितेको पाल्हीनन्दन गाउँपालिका नछाड्नेमा माओवादी छ । नेपाली कांग्रेसले हाल जितेका र एमालेले जितेका ठाउँमा गठबन्धनको साथ लिएर अगाडि जाने उसको सुर छ । माओवादीले सुनवल, बर्दघाट र रामग्राम नगरपालिकाका केही वार्डहरू आफूहरूले लिएर कांग्रेससँग तालमेल गर्न सक्नेछ ।

यता नेकपा एकीकृत समाजवादीका जिल्ला इन्चार्ज बृहस्पति अधिकारीले कांग्रेसले खासै चासो नदेखाएकोले गठबन्धन बलियो नभएको बताए । ‘कांग्रेस कमजोर भएको ठाउँमा मात्र सहकार्य गर्न खोजेकाले समस्या भएको छ’, अधिकारी भन्छन् ।

सरावल, सुनवल र बर्दघाटमा नेकपा एसले उपप्रमुख मागेको छ । अन्य ठाउँमा वार्डहरू भए पनि लिएर मिलेर जान सकिने सम्भावाना रहेको उनी बताउँछन् । उनले आफूहरूको संगठन अलि कमजोर रहेकोले प्रमुखमा दाबी गर्ने अवस्था नभएको बताए । यहाँ जनमोर्चाको अवस्था पनि कमजोर रहेको छ । यद्यपि यसको औपचारिक छलफल भएको छैन । त्यहाँ माओवादी र नेकपा एकीकृत समाजवादीबीच प्रमुख र उपप्रमुख बाँडफाँट हुनेछ ।

पश्चिमनवलपरासीमा स्थानीय चुनाव २०७४ परिणाम यसप्रकार रहेको थियो ।

१. सुनवल नगरपालिका- कांग्रेस (९७०७), एमाले (९१८२), माओवादी (३५३५)

२. बर्दघाट नगरपालिका- एमाले (१२८१४), कांग्रेस (११७७४), माओवादी (१८५०)

३. रामग्राम नगरपालिका- कांग्रेस (५८५६), एमाले (४५३०), राप्रपा (३८४४)

४. पाल्हीनन्दन गाउँपालिका- माओवादी (४४१०), कांग्रेस (३९२४), संघीय समाजवादी (२११४)

५.प्रतापपुर गाउँपालिका- कांग्रेस (४४३६), मधेसी जनअधिकार (३७२७), एमाले (१५६३)

६. सरावल गाउँपालिका- मधेसी जनअधिकार (५०४५), कांग्रेस (३९१६), एमाले (१८४१), माओवादी (१६३३)

७. सुस्ता गाउँपालिका- एमाले (३५११), कांग्रेस (२९५२), माओवादी (१४१३)

कमेन्टहरु