महिला भलिबल च्याम्पियनसिप : उद्घाटन खेलमा वाग्मती र गण्डकी भिड्दै


पाल्पा । सन्जय स्मृति राष्ट्रिय महिलाबिच भलिबल च्याम्पियनसिपको उद्घाटन खेलमा वाग्मती र गण्डकी प्रदेशबीच प्रतिस्पर्धा हुँदै छ । पाल्पाको रानीमहलमा हुने प्रतियोगितामा पहिलो दिन बिहीबार ६ खेलहरु हुनेछन् ।
खेलको तालिकाअनुसार प्रतियोगितामा नौ टीमको सहभागिता रहेको छ । प्रत्येक टीमलाई क्रमशः समूह ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ मा विभाजन गरिएको छ । पहिलो खेलमा समूह ’ए’ मा रहेको मधेस प्रदेश र प्रदेश–१ बीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान सात बजेदेखि सुरु हुनेछ । आठ बजे हुने दोस्रो खेलमा समूह ’बी’ को सुदूरपश्चिम र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
यस्तै, तेस्रो खेलमा समूह ’सी’ को लुम्बिनी प्रदेश र नेपाल पुलिस क्लब भिड्नेछन् भने चौथो खेलमा समूह ’ए’ को प्रदेश एक र सशस्त्र प्रहरी बलको एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ । दिउँसो १२ बजे हुने प्रतियोगिताको उद्घाटन खेलमा समूह ’डी’ को वाग्मती प्रदेश र गण्डकी प्रदेश आमनेसामने हुनेछन् । दिनको अन्तिम खेलमा समूह ’ए’ को एपिएफ र मधेस प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब, मधेस प्रदेश, बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश-१ सहभागी छन् । समूह ’ए’ मा मधेस प्रदेश, प्रदेश-१ र एपिएफ, समूह ’बी’ मा सुदूरपश्चिम र कर्णाली, समूह ’सी’ मा लुम्बिनी प्रदेश र पुलिस, समूह ’डी’ मा वाग्मती र गण्डकी प्रदेश छन् ।
महिलाबीच भलिबलको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।























