एमाले प्रवेश गरेको २४ घण्टामै माओवादीमा फर्किएका डल्लाकोटीले भेटे प्रचण्ड


काठमाडौं, चैत २३ । एमाले प्रवेश गरेको २४ घण्टा बित्न नपाउँदै पुनः माओवादी केन्द्रमै फर्किएका धादिङको बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष पित्त बहादुर डल्लाकोटीले पार्टी अध्यक्ष प्रचण्डलाई भेटेका छन् । प्रचण्ड निवास खुमलटारमा पुगेर डल्लाकोटीले प्रचण्डलाई भेटेका हुन् ।
बुधबार भएको भेटघाटमा डल्लाकोटीले केही मान्छेको परिबन्दमा परेर आफू बालकोट पुगेको बताएका छन् । ‘अध्यक्षज्यू, केहि मान्छेको परिबन्दमा परि बालकोट पुगेँ । यसमा मेरो गल्ती भो । तर मलाई मैले बनाएको पार्टी, कार्यकर्ता र मलाई निर्वाचित गर्ने जनताले २ दिनसम्म छोडेनन्, सुत्न नि दिएनन्’, डल्लाकोटीको भनाइ उदृत गर्दै प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘मैले आज मेरा कार्यकर्ता र जनताप्रति गर्व गर्छु र म २ दिनमै घर फर्केको छु ।’
डल्लाकोटीले गल्ती भयो भनेपछि प्रचण्डले अब काममा फर्किन निर्देशन दिएका थिए । ‘अध्यक्ष कमरेड प्रचण्डले गल्ती गरेँ भनिसक्नु भो । अब काममा फर्कनुस् भन्नुभयो’, मल्लले भेटपछि भने । माओवादीबाट निर्वाचित डल्लाकोटी सोमबार धादिङ एमालेका नेताहरुसँगै पार्टी प्रवेशका लागि बालकोट पुगेका थिए ।






















