टीकापुरमा गठबन्धन र एमालेलाई चुनौती दिँदैछ रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी


कैलाली । सुदूरपश्चिम प्रदेशको सबैभन्दा पूर्वी नगरपालिका टीकापुरमा ३० वैशाखको स्थानीय चुनावमा लालझण्डा फहराउने कि हरियो ? अघिल्लो चुनावका प्रत्यासी दलहरू एमाले, कांग्रेस र माओवादी केन्द्र चुनावी माहौल आफ्नो पक्षमा पार्न घरदैलो गरिरहेका छन् ।
झट्ट हेर्दा एमाले र सत्ता गठबन्धनबीच मुख्य प्रतिस्पर्धा हुने देखिए पनि टीकापुर घटनाको सहानुभूति बटुल्दै भित्रभित्रै शक्ति आर्जन गरिरहेको छ– सांसद रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी । सो पार्टीको अर्थपूर्ण उपस्थितिले परम्परागत प्रतिस्पर्धी दलहरूको चुनावी गणित तलमाथि पार्न सक्ने अनुमान स्थानीयले गर्न थालेका छन् ।
सत्तारुढ गठबन्धनले टीकापुरको भागवण्डा टुंग्याइसकेको छैन । कांग्रेस र माओवादी केन्द्र दुवैले टीकापुरको मेयरमा दाबी गरिरहेका छन् । माओवादी केन्द्रबाट मेयरका आकांक्षी ललितबहादुर थापा यसपटक टीकापुरमा माओवादीको लालझण्डा फहराउने दाबी गर्छन् । ‘कैलालीका दुई केन्द्र धनगढी र टीकापुरमध्ये एउटा हामी छाड्दैनौँ,’ उनले भने, ‘दुवै ठाउँ छाडेर गठबन्धन गर्नुको अर्थ रहन्न । कांग्रेसले धनगढी नछाड्ने भनिसकेपछि टीकापुर हामीले छाड्न मिल्दैन ।’
थापा २०७४ को निर्वाचनमा पनि मेयरका उम्मेदवार थिए । त्यसैले आफू घाइते उम्मेदवार रहेकाले पार्टीले आफूलाई नै अघि बढाउने र जिताउनेमा उनी विश्वस्त छन् । ‘जनयुद्ध लडेर पार्टी र वाईसीएलमा काम गरेर आएको हो । अघिल्लो पटक धेरै मत बदर भई प्राविधिक रूपमा मात्र हारेको हो,’ थापाले भने, ‘यसपटक धेरै मेहनत गरेका छौँ ।’ थापासँगै माओवादी केन्द्रबाट विकास चौधरी र खड्ग शाह पनि मेयरका आकांक्षी छन् ।
अघिल्लो चुनावमा एमाले, कांग्रेस, माओवादी केन्द्र र तत्कालीन मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) ले हाराहारीमा मत ल्याएका थिए । एमालेका तपेन्द्रबहादुर रावलले ५ हजार ९ सय ५९ मतसहित विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका लौटन चौधरीले ५ हजार ५ सय ३४ मत ल्याएका थिए । तेस्रो धेरै मत ल्याउने कांग्रेसका जंगबहादुर साउदले ५ हजार ५ सय १४ र चौथो अधिक मत माओवादी केन्द्रका ललितबहादुर थापाले ५ हजार ५ सय १० मत ल्याएका थिए ।
उपमेयरमा समेत प्रतिस्पर्धा रोचक बनेको थियो । कांग्रेसकी केशरीकुमारी रावल ६ हजार २ सय २६ मतले विजयी हुँदा माओवादी केन्द्रकी आशाकुमारी ५ हजार ५ सय ५३ मतसहित निकटतम प्रतिद्वन्द्वी बनेकी थिइन् । उनलाई ५ हजार ३ सय ९५ मतले एमालेकी कमला केसीले पछ्याएकी थिइन् भने फोरम लोकतान्त्रिकका सुदेशनी चौधरी ५ हजार २ सय ७७ मतसहित चौथो स्थानमा थिइन् । टीकापुर नगरपालिकामा अहिलेको मतदाता संख्या ५२ हजार ८ सय ७२ छ ।
कांग्रेसका मेयरका आकांक्षी नवराज रावल पाँच वर्षमा जनमतमा आएको हेरफेरले आफ्नो पार्टी सबैभन्दा बलियो शक्ति रहेकाले गठबन्धनका नाममा टीकापुर छाड्न नसक्ने बताउँछन् । २०७४ को स्थानीय चुनावको जनमतलगत्तै भएको प्रदेश र संघको चुनावमा फेरिएको उनी दाबी गर्छन् । विजय गच्छदार नेतृत्वको मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) र कांग्रेसबीच एकता भएपछि टीकापुरमा कांग्रेसको भोट त्यतिबेलै १० हजार पुगेको उल्लेख गर्दै रावल भन्छन्, ‘एमाले–माओवादी केन्द्र एक भएर प्रदेशको चुनावमा आउँदा पनि हामीले १ हजारको अन्तरले चुनाव जितेको आधारले पनि कांग्रेसले टीकापुर छाड्न मिल्दैन ।’
प्रदेशसभा सदस्य निर्वाचनमा कैलाली क्षेत्र नं. १ (ख) बाट कांग्रेसका डा. रणबहादुर चन्द एमाले–माओवादी गठबन्धनलाई पराजित गर्दै विजयी भएका थिए । ‘हामी सत्ता गठबन्धनको साथ लिएर वा एक्लै लडेर भए पनि टीकापुरमा यसपटक कांग्रेसको हरियो झण्डा फहराउँछौँ,’ रावलले भने । कांग्रेसबाट रावल, राजु हमाल र वर्तमान उपमेयर केशरी रावल टीकापुरको मेयरका लागि आकांक्षी छन् ।






















