राजनीति

कञ्चनपुरमा सत्तागठबन्धनका दलबीच निर्वाचनमा तालमेल गर्ने सहमति

नवलपुर टुडे
२०७८ चैत्र २२ | मध्यान्ह ०२:१२ बजे

महेन्द्रनगर । सत्तागठबन्धनमा आबद्ध दलहरूबीच स्थानीय तहको निर्वाचनमा कञ्चनपुरमा तालमेल गर्ने सहमति भएको छ।

आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयअनुरूप नै कञ्चनपुरमा पनि गठबन्धन गर्ने सहमति भएको हो। नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा कञ्चनपुरले निर्वाचनमा गठबन्धन गर्ने केन्द्रको निर्णयकाे स्वागत गर्दै जिल्लामा पनि तालमेल गरेर जाने सहमति गरेका हुन्।

माओवादी केन्द्र कञ्चनपुरका युवा नेता वीरेन्द्रराज विष्टले गठबन्धन दलको पहिलो बैठकले चुनावमा तालमेल गरेर जाने सहमति भएको जानकारी दिए। कांग्रेस सभापति पदम बोगटीको अध्यक्षमा बसेको बैठकमा माओवादी केन्द्रका जिल्ला संयोजक खेम पाण्डे, समाजवादी कञ्चनपुर जिल्ला इन्चार्ज लालबहादुर खड्का र जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्कीलगायतका नेताहरू बैठकमा सहभागी थिए।

बैठकमा सहभागी राष्ट्रिय जनमोर्चा कञ्चनपुरका अध्यक्ष कार्कीले पहिलो बैठकमा केन्द्रको निर्णयको स्वागत गरिएको बताए। ‘पहिलो बैठक हामीले कांग्रेस पार्टी कार्यालयमा बसेर केन्द्रमा सत्तारुढ दलले गरेका सहमतिको स्वागत गर्दै आगामी निर्वाचनबारे अर्को बैठक २३ चैतमा बस्ने गरी टुंग्याएका छौँ,’ उनले भने, ‘आगामी बैठकमा गठबन्धनमा आबद्ध दलहरूले आ–आफ्नो विषय राख्दै सिट बाँडफाँड गरिनेछ।’

बैठकमा सहभागी एकीकृत समाजवादी कञ्चनपुरका सचिव हरकसिंह धामीले गठबन्धनका लागि सत्तारुढ दलहरूले तयारी अघि बढाएको बताए। कांग्रेस कञ्चनपुरका उपसभापति मीनबहादुर सिंहले पनि स्थानीय तहका लागि केन्द्रबाट गरिएको निर्णयअनुरूप नै अघि बढ्ने बताए।

कमेन्टहरु