चितवनका सबै स्थानीय तहमा तालमेल गर्ने गठबन्धन दलको निर्णय


भरतपुर । सत्ता गठबन्धनले चितवनका सबै स्थानीय तहमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ। सोमबार बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राजमोका जिल्ला नेताबीच तालमेलको सहमति भएको हो।
चितवन कांग्रेसका सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको बैठकले ७ वटै स्थानीय तह र जिल्ला समन्वय समितिमा समेत तालमेल गर्ने निर्णय गरेको हो।
यस्तै केन्द्रीय परिपत्र अनुसार दलगत बस्तुस्थितिको बारेमा प्रतिवेदन तयार गर्न प्रत्येक दलबाट १/१ जना प्रतिनिधि रहने गरी कार्यदल बनाउने भएका छन । गठबन्धन दलबीच संयुक्त संयन्त्र निर्माण गरेर छलफललाई अगाडि बढाउने र त्यसको संयोजन नेपाली कांग्रेसका पालिका सभापतिले गर्ने दलहरुबीच सहमति पछि जारी विज्ञप्तिमा उल्लेख छ।
‘गठबन्धनमा सहभागी दलहरुका बीच गठबन्धनको मर्म र भावना अनुरुप एक आपसमा सम्मान र हार्दिकताको विकास गर्दै संयुक्तरुपमा आसन्त स्थानीय तहको निर्वाचनमा सहभागी हुने निर्णय गरियो’, विज्ञप्तिमा भनिएको छ।
बैठकमा चितवन कांग्रेसका सभापति राजेश्वर खनाल, नेकपा माओवादी केन्द्रका संयोजक रामचन्द्र अधिकारी, जनता समाजवादी पार्टीका अध्यक्ष प्रेम भुजेल, एकीकृत समाजवादीका इन्चार्ज कृष्णप्रसाद खनाल र राजमोका अध्यक्ष डम्वर पुरी सहभागी थिए।






















