लडागडा वडालाई बालविवाह मुक्त घोषणा


डोटी । डोटीको दिपायल सिलगढी नगरपालिका –८ लडागडा लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले वडा ८ लडागडामा आयोजित कार्यक्रमबीच वडालाई बालविवाह मुक्त घोषणा गर्नुभएको हो ।
यो वडा सुदूरपश्चिम प्रदेशमै पहिलो बालविवाह मुक्त वडा घोषणा भएको छ । एक बर्षको अवधिमा वडामा उमेर नपुगी हुने मागी बिवाह शुन्य भएको छ । तीन बर्षको अवधीमा वडा कार्यालयको अगुवाइमा उमेर नपुग्दै गर्न लागिएका ८ वटा विवाह रोकिएका छन् । भागी बिवाह समेत नगन्य भएसँगै वडालाई बालविवाह मुक्त वडा घोषणा गरिएको हो ।
‘यो मेरो कार्यकालको महत्वपुर्ण उपलब्धी हो’ बालविवाह मुक्त वडा घोषणा कार्यक्रममा दिपायल सिलगढी नगरपालिका प्रमुख मञ्जु मलासीले भन्नुभयो । ‘सुदूरपश्चिम प्रदेशमा नै बालविवाह मुक्त पहिलो वडाको रुपमा घोषणा हुनु अझै खुशीको कुरा हो’ उहाँले भन्नुभयो । अवका दिनमा कुनै बालबालिकाले उमेर नपुग्दै विवाह नगरुन् भन्नेतर्फ सबैले सचेत हुनुपर्छ उहाँले भन्नुभयो ।
नेपाल सरकार बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ ले सन् २०३० सम्ममा नेपालबाट बालविवाहको अन्त्य गर्ने मुख्य लक्ष्य लिएको छ । मुलुकी अपराध संहिता, २०७४ ले बालविवाहलाई फौजदारी कसुर मानेको छ । ऐनको दफा १७३ अनुसार केटा र केटीको उमेर २० बर्ष नपुगी गरिएको विवाह स्वतः बदर हुन्छ ।
गुड नेवर्स इन्टरनेशनल नेपालसँगको सहकार्यमा दिपायल सिलगढी नगरपालिकाले २०७६ सालमा बालविवाह अन्त्यका लागि पाँच बर्षे स्थानीय रणनीति निर्माण गरेर लागु गर्दैआएको थियो । रणनीति अन्तर्गत बालविवाह निगरानी समुह गठन तथा परिचालन, स्थानीय तहबाट बार्षिक रुपमा बालविवाह अन्त्यका क्रियाकलापका लागि बजेट बिनियोजन लगायतका क्रियाकलाप गरिदैआएका छन् ।
गुड नेवर्स इन्टरनेशनल नेपालका जिल्ला संयोजक तेजप्रसाद शर्माले भन्नुभयो, ‘दिपायल सिलगढी नगरपालिकासँगको सहकार्य, विद्यालयलगायत समुदायमा बिभिन्न जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएसँगै बालविवाह मुक्त वडा घोषणा गर्न सफल भयौ ।’
























