गुल्मी मुसिकोट – ९ मा काङ्ग्रेसबाट महिला उम्मेवार भुमा गुरुङ सर्वसम्मत चयन, बाँकी वडामा सहमतिको प्रयास जारी


इन्द्रजित नेपाली
गुल्मी । गुल्मीको मुसिकोटमा नेपाली काङ्ग्रेसले आउदो बैशाख ३० गतेको स्थानिय निर्वाचनको लागि वडा नम्बर ९ अर्लाङ्गकोटमा वडाध्यक्षको लागि महिला उम्मेदवार भुमा गुरुङलाई सर्वसम्मत रुपमा छनोट गरेको छ । वडा नम्बर ४ बडागाउ, ६ कुर्घा र ८ वामीमा भने आन्तरिक रुपमा छलफल चलिरेको र अरुभन्दा सहज रुपमा छनोट हुने अपेक्षा गरिएको पाइएको छ । वडानम्बर ३ बडागाउँमा आउदो १६ गते छनोटका लागि भेला डाकिएको श्रोतको भनाइ छ ।
अन्य ८ वटा वडाहरुमा भने सर्वसम्मत रुपमा छनोटको लागि प्रयासरत रहेको काङ्ग्रेस श्रोतले बताएको छ । वडानम्बर १ पौदि, २ मुसिकोट, ५ आपचौर र ७ वामीटक्सारमा छलफल चलिरहेको र दुईचार दिनभित्र वडातहबाटै टुङ्गिने अपेक्षा गरिएको छ ।
समग्रमा छनोटका लागि वडाहरुमा २ देखि १० जनासम्म आकांक्षी रहेको काङ्ग्रेसले बताएको छ । आउदो २० गतेभित्र वडाको सहमति जुट्न नसकेमा नगरले यथासक्य पहल गर्ने नभए पार्टीका माथिल्ला समितिमा सिफारिस गरिने भएको छ । यस सङ्गसङ्गै नगरप्रमुखको दाबेदारीको रुपमा १० जनाले आकांक्षा देखाएका छन । पार्टीको नगर सभापति समेत रहेका मोहन घिमिरे, काङ्ग्रेस लुम्बिनी प्रदेश सदस्य विष्णु कुमारी सापकोटा, माधव प्रसाद खरेल, पुर्व जिल्ला सचिव हरिनारायण सापकोटा, महाधिवेशन प्रतिनिधि ज्ञानहरि सापकोटा, जिल्ला सदस्य झबिलाल भण्डारी, तरुण विभाग केन्द्रीय सदस्य बीर बहादुर जि.सी, नगर सचिव भिमसेन के.सी., कृष्णप्रसाद खरेल, गङ्गाराज सापकोटा लगायतले दाबि प्रस्तुत गरेको श्रोतको भनाइ छ ।
त्यस्तै नगर उपप्रमुखको लागि ४ जनाले आकांक्षा देखाएका छन । पार्टी लुम्बिनी प्रदेश सदस्य कल्पना घिमिरे, अनिसा केसी, पार्टी नगर सहसचिव सुस्मा सापकोटा तिवारी र महिला संघ क्षेत्रीय सभापति मिना जिसीले दाबी प्रस्तुत गरेको काङ्ग्रेसले जनाएको छ । यी सबैको आपसी सहमतिमा टुङ्गो लगाउन काङ्ग्रेसले २० गतेसम्म पहल गर्ने र सहमति जुट्न नसके माथिल्लो समितिमा सिफारिस गरिने काङ्ग्रेस श्रोतले बताएको छ ।






















