चुनावी तालमेलको पक्षमा कांग्रेस, माओबादी ढुक्क छैन


काठमाडौ । आसन्न स्थानीय चुनावमा सत्ता गठबन्धनलाई कायमै राखेर कांग्रेस अघि बढ्ने भएको छ । तीन दिने केन्द्रीय समितिको बैठकले कांग्रेसलाई यसतर्फ उन्मुख गराएको हो ।
संविधान र लोकतन्त्रलाई सिध्याउने उद्देश्यले दुईपटक संसद विघटन गरेको एमालेलाई साइजमा राख्न गठबन्ध आवश्यक रहेको मत कांग्रेसभित्र छ । यस्तै पाँच दलबीच चुनावसम्मै सहकार्यको सहमतिमा प्रतिवद्ध रहन पनि चुनावी गठबन्धमा अडिग रहनुपर्ने मत नेताहरूले राखेका छन्। ।
बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यले सभापति शेरबहादुर देउवाको आशयअनुसार मत राखेपछि कांग्रेस त्यसतर्फै अघि बढ्ने भएको छ ।
बैठकमा बोल्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेलाई साइजमा राख्न पनि कांग्रेस गठबन्धन गरेरै अघि बढ्नुपर्ने मत राखेका छन् । उनले एमालेलाई साइजमा राख्नका निम्ति माओवादी केन्द्र र एकीकृत समाजवादीलाई मत हाल्नुपर्ने धारणा राखेका हुन् । ‘केपी ओलीको असंवैधानिक कदमविरुद्ध हामीसँगै लडेका हौँ । संविधान र लोकतन्त्रलाई सिध्याउन खोज्ने ओली र एमालेलाई साइजमा राख्न माओवादी र एकीकृत समाजवादीलाई भोट थपिदिनुपर्छ,’ पौडेलले भनेका छन् ।
बैठकमा कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई बहुमत स्थानमा जिताउन र आन्तरिक एकता बलियो रहेको सन्देश दिन पनि चुनावी गठबन्धनको पक्षमा कांग्रेस उभिनुपर्ने मत राखे । ‘पार्टीभित्र आन्तरिक एकता बलियो रहेको सन्देश दिन र चुनावमा कांग्रेसलाई बलियो बनाउन पनि एकमनाले गठबन्धनको पक्षमा निर्णय लिनुपर्छ,’ उनले भनेका छन् ।
यस्तै नेता बालकृष्ण खाँणले पनि पाँचदलीय गठबन्धन बन्दा चुनावसम्मै जाने सहमति भएकाले त्यसमा प्रतिवद्ध रहनुपर्ने बताएका छन् । ‘पाँचदलीय गठबन्धन निर्वाचनसम्मै जानेगरी बनेकाले कांग्रेस त्यस सहमतिमा प्रतिवद्ध हुनैपर्छ,’ उनले बैठकमा भनेका छन्,’ सरकार बन्ने बेलामै भएको सहमति कांग्रेसले तोड्नुहुँदैन ।’
बैठकमा बोल्दै कांग्रेस नेता रमेश लेखकले पनि सत्ता गठबन्धनलाई असर नपुग्नेगरी कांग्रेसले निर्णय लिनुपर्ने मत राखेका थिए । यस्तै नेता चित्रलेखा यादवले पनि आवश्यकताको सिद्धान्तअनुसार गठबन्धनमा जानुपर्ने भनाइ राखेकी थिइन् ।






















