तीनै तहको निर्वाचनसम्म गठबन्धनलाई लैजानुपर्छ : प्रधानमन्त्री


तनहुँ, चैत १० । प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई तीनै तहको निर्वाचनसम्म बचाएर लैजानुपर्ने अहिलेको आवश्यकता रहेको बताएका छन् । नेपाली काङ्ग्रेस तनहुँले बिहीबार पार्टी कार्यालयमा आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले लोकतन्त्र बचाउनका लागि पनि गठबन्धन आवश्यक रहेको बताए ।
प्रधानमन्त्री देउवाले लोकतन्त्र र प्रजातन्त्र बचाउनका लागि गठबन्धनका दलको योगदान रहेको उल्लेख गर्दै भने, ‘स्थानीय चुनावमा मात्र नभई प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनसम्म नै गठबन्धनलाई लैजानुपर्छ । उहाँहरुलाई पनि उचित स्थान दिनुपर्छ ।’
प्रधानमन्त्री देउवाले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पार्टीलाई जिताउन एकढिक्का भएर लाग्न आग्रह गरे । तनहुँ आदिकवि भानुभक्तको जिल्ला भएकाले यसको छुट्टै महत्व रहेको बताउँदै काङ्ग्रेसका लागि पनि तनहुँ उर्वरभूमि रहेको उल्लेख गरे ।






















