सिरियामा बसमा बन्दुकधारीको आक्रमण, सात जनाको मृत्यु


दमास्कस । सिरियाको पश्चिमी होम्स प्रान्तमा बन्दुकधारीले यात्रुवाहक बसमा गोली चलाउँदा कम्तीमा सात जनाको मृत्यु भएको छ।
सरकारी समाचार संस्था सानाका अनुसार बुधबार मास्याफ पुल पार गरिरहेको बसमा ‘अज्ञात आक्रमणकारी’ले गोली चलाएका थिए। घटनामा केही मानिस घाइतेसमेत भएका छन्।
यो घटना सिरियामा बसर अल-असदको सरकार सन् २०२४ को अन्त्यमा पतन भएपछि सुरक्षा चुनौती कायमै रहेको पछिल्लो संकेत हो। दमास्कस र आसपासका क्षेत्रमा यस अवधिमा विभिन्न हिंसात्मक आक्रमण हुँदै आएका छन्।
यसैबीच, राजधानी दमास्कसनजिकै ग्यास पाइपलाइनमा विस्फोट र आगलागी हुँदा तीनवटा प्रमुख विद्युत् गृह बन्द भएका छन्। पूर्वी घौटामा भएको विस्फोटपछि पर्याप्त ग्यास आपूर्ति हुन नसक्दा देइर अली, अल–नासिरियाह र तिश्रिन विद्युत् गृह सञ्चालनबाट बाहिरिएका सिरियाली विद्युत् कम्पनीले जनाएको छ। तिश्रिन विद्युत् गृहमा समेत आगलागी भएको थियो।
ऊर्जामन्त्री मोहम्मद अल–बशिरले आगो नियन्त्रणमा आइसकेको र नागरिक सुरक्षा टोलीले प्रभावित क्षेत्रमा चिस्याउने काम गरिरहेको बताएका छन्। विस्फोट प्राविधिक खराबी, आक्रमण वा तोडफोडमध्ये कुन कारणले भएको हो भन्ने स्पष्ट नभएको भन्दै उनले प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेपछि वास्तविक कारण पत्ता लाग्ने बताए।
पछिल्लो घटना सिरियाको ग्यास पूर्वाधारमा पछिल्लो छ सातामा भएको तेस्रो विस्फोट हो। यसअघिका दुई घटनालाई तोडफोड भएको सिरियाली पेट्रोलियम कम्पनीले जनाएको छ। तर कुनै पनि घटनाको जिम्मेवारी अहिलेसम्म कसैले लिएको छैन।
तीन विद्युत् गृह बन्द भएपछि सिरियाली विद्युत् कम्पनीले देशका विभिन्न क्षेत्रमा लोडसेडिङ तथा विद्युत् कटौतीको अवधि बढ्न सक्ने चेतावनी दिएको छ। ऊर्जा संकटसँग जुधिरहेको सिरियामा पछिल्ला महिनामा इन्धन तथा विद्युत्को मूल्य बढेको भन्दै जनअसन्तोषसमेत देखिँदै आएको छ।
यसरी एकै दिन भएको घातक बस आक्रमण र ऊर्जा पूर्वाधारमा भएको विस्फोटले असदपछिको सिरियामा सुरक्षा र ऊर्जा पूर्वाधार दुवै क्षेत्रमा चुनौती कायमै रहेको देखाएको छ।






















