राजनीति

अब जय मधेस भन्ने नै एमालेले हो : अध्यक्ष ओली

नवलपुर टुडे
२०७८ चैत्र ८ | मध्यान्ह ०४:१२ बजे

काठमाडौं, चैत ८ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मधेसको विकासमा सही बाटो देखाउने नेता र पार्टी अरू असफल भएकाले अब एमालेको काँधमा मधेसको जिम्मेवारी आएको बताएका छन् । मङ्गलबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारले मधेसको विकासका लागि गरेका र अघि सारेका योजनाहरू सुनाए ।

उनले आफू प्रधानमन्त्री हुँदा हुलाकी राजमार्ग, मधेसका जिल्ला सदरमुकाम जोड्ने सडक विस्तार तथा स्तरोन्नति, पूर्व पश्चिम राजमार्गको विस्तार, सुनकोसी मरिन डाइभर्सनको सुरुवात र फुसका छाना हटाउने अभियान सुरुआत गरेको भन्दै गठबन्धन सरकार आएपछि मधेसको विकास अघि बढ्न नसकेको बताए ।

ओलीले भने–“यहाँ शिव पटेलजीले एमाले प्रवेश गर्दै जय मधेस भन्ने बानी छ भन्नुभयो । अब जय मधेस भन्ने नै एमालेले हो । मधेसको जय गर्ने एमालेले हो । जय मधेस गर्ने ठाउँमा साथीहरू आइपुग्नुभएको छ, ढुक्क हुनुस् अब जय मधेस । मधेसले समृद्धि खोजेको छ, त्यसको नेतृत्व एमालेले गर्छ ।”

अध्यक्ष ओलीले केही समय एमालेलाई मधेस विरोधी पार्टी भनेर भ्रम छरिए पनि भ्रम टुटेर मधेसबाट एमाले प्रवेशको लहर चलेको बताए । पछिल्लो समय मधेसका ठूला र प्रभावशाली राजनीतिक व्यक्ति तथा जनप्रतिनिधिहरू एमाले प्रवेश गरिरहेको भन्दै ओलीले अब मधेसको नेतृत्व एमालेले गर्ने बताए ।

ओलीले एमालेमा प्रवेश गर्ने कसैमाथि भेदभाव नगरिने भन्दै नवप्रवेशी सबैलाई उचित जिम्मेवारी दिइने बताए । परमादेशबाट एमालेलाई सरकार बाहिर लगिए पनि जनादेशबाट एमाले बहुमतका साथ पुन फर्किने ओलीले दाबी गरे ।

कमेन्टहरु