राजनीति

एमाले पाणिनिको भेला तथा प्रशिक्षण सम्पन्न

जगत ठाडा मगर
२०७८ फाल्गुन २५ | मध्यान्ह ०८:११ बजे

अर्घाखाँची । नेकपा एमाले अर्घाखाँचीले पाणिनि गाउँपालिकामा पालिका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझीले परमादेश सरकार बिकास र समृद्धिको बाधक रहेको बताए । उनले नेपाल समृद्ध भएको देख्न नचाहनेहरुले अदालतलाई प्रयोग गरेर स्वार्थ समुहको गठजोड गरि परमादेश सरकार निर्माण गरेको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य द्वय चन्द्रबहादुर खड्का उज्ज्वल र चेतनारायण आचार्यले गठबन्धन सरकार र यसमा सामेल दलका नेताहरूले अर्घाखाँची जिल्लाको बिकास बजेट काटेर जनतालाई धोका दिएको बताए । उनीहरुले एमालेले काम गरेन हामीले गर्छौ भन्दै केन्द्र र प्रदेश सरकारको नेतृत्व गरेका दलहरूले अर्घाखाँची जिल्लामा मात्रै करीब १ अर्ब ८० करोड बजेट काटेको गुनासो गरे । गठबन्धन सरकारका कारण मुलुकको अर्थ व्यवस्था चौपट भएको ,विकास निर्माणको काम रोकिएको र जनतामा निराशा छाएको उनीहरुको भनाई थियो ।

कार्यक्रममा मन्तव्य राख्दै नेकपा एमालेका नेता रामजी प्रसाद घिमिरे र नेकपा एमालेका जिल्ला अध्यक्ष पीताम्बर भुसालले राष्ट्रघाति जनविरोधी गठबन्धनका बिरुद्ध जनतामा जागरण ल्याउनुपर्ने बताए । आगामी निर्वाचनमा अर्घाखाँची जिल्लाको सबै पालिका ,दुवै प्रदेश र केन्द्रमा नेकपा एमालेले भारी मतका साथ बिजय हासिल गर्ने उनको दाबी छ ।

नेकपा एमाले पाणिनि गाउँ पालिका कमिटीका अध्यक्ष कमल घिमिरेको अध्यक्षता,उपाध्यक्ष जिवलाल घिमिरेको स्वागत मन्तव्य र सचिव गुनाखर अधिकारीको संचालनमा सम्पन्न कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटीका सदस्यहरु जिवनारायण कोईराला, कुटमदिन अलि, जाल्पा भुसाल, जिल्ला कमिटीका उपाध्यक्ष ईश्वरा पोख्रेल, उपसचिव द्वय शम्भु प्रसाद पोख्रेल र भिम के।सी।,एमाले नेता प्रेमनारायण गैरे,एमाले जिल्ला सल्लाहकार परिषद्का संयोजक रुद्रप्रसाद पोख्रेल, पाणिनि गाउँ पालिका कमिटीका ईन्चार्ज टेकराज न्यौपाने, सह ईन्चार्ज द्वय दुर्गा अधिकारी, उमानाथ पौडेल लगायतका वक्ताहरूले मन्तव्य राखेका थिए ।

कमेन्टहरु