सभामुखले आज बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने


काठमाडौं, फागुन २ । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बहिस्कार गर्ने भएको छ । महाअभियोग दर्ता भएपछि महाअभियोग परामर्श समिति गठन गर्न सभामुख सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठक एमालेले बहिस्कार गर्ने भएका हुन् ।
नेकपा एमालेका नेता तथा सांसद शेरबहादुर तामाङले सभामुखले बोलाएको सर्वदलीय बैठकमा नजाने बताएका छन् । ‘एमाले त्यो बैठकमा जाँदैन । किनभने सभामुखप्रति हाम्रो असहमति रहँदै आएको छ । उहाँसँगै असहमति रहिरहेका बेला फेरि उहाँले नै बोलाएको बैठकमा जानुको अर्थ रहँदैन’, तामाङको भनाइ छ ।
नेकपा एमाले उच्च स्रोतका अनुसार एमालेले आजै सभामुख सापकोटाविरुद्ध महाभियोग प्रस्ताव लैजाने तयारी समेत गरेको छ । ‘सभामुख स्वयंकाविरुद्ध महाअभियोग जाने सम्भावना छ । त्यो प्रक्रिया आजै बस्ने संसदीय दलको बैठकपछि अघि बढ्नसक्छ’, एक एमाले नेताले भने, ‘सभामुख कुनै एक पार्टीको प्रवक्ता जस्तो भएको अवस्था छ । उहाँको यस्तो व्यवहारले सदनको गरिमा उचो बन्न सकेन ।’
आइतबार साँझ बसेको एमाले सचिवालय बैठकले सत्तारुढ दलले प्रधानन्यायाधीशमाथि महाभियोग प्रस्ताव लोकतन्त्रमाथिको प्रहार, संघीय लोकतान्त्रिक गणतन्त्र र सुदृढ हुदै गएको राजनीतिक प्रणालीलाई अस्थिर बनाउने र नियन्त्रित अस्थिरता सिर्जना गर्ने उदेश्य अनुसार अघि बढाएको निश्कर्ष निकालेको थियो ।






















