आज एकैदिन पाँच जना मृत फेला


बुटवल । आज बिहीबार देशका विभिन्न स्थानमा पाँचजना मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलामको माङसेबुङ गाउँपालिका ६ चिसापानी बस्ने ६८ वर्षीय सिद्दिमान राई घर नजिकै बाटोबाट करिब २ सय मिटर मुनी बिहीबार मृत अवस्थामा फेला परेका छन्।
त्यसैगरी मनाङको नासों गाउँपालिका ९ दानक्युस्थित सडकबाट ५० मिटर तल भिरमा सोही गाउँपालिका ८ ताचै बस्ने ६५ वर्षीय रतन घले पनि मृत फेला परेका छन्।
उता कैलालीको गोदावरी नगरपालिका २ अत्तरीया पहाड रोडस्थित होटलको कोठामा अछाम ठेगाना भएका ५५ वर्षीय दीर्ख कठायत मृत अवस्थामा फेला परेका छन्।
त्यसैगरी बर्दियाको गुलरिया नगरपालिका ३ बस्ने २२ वर्षीय सुन्दर रैदास भे १ ख ३७०८ नम्बरको बसको सिटमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। काठमाडौंबाट बर्दियाको लागि जाँदै गरेको उक्त बस गुलरिया नगरपालिका ५ मतंगा चोकमा पुगेर यात्रु झार्ने क्रममा उनलाई मृत फेला पारिएको हो।
त्यसैगरी पाल्पाको रैनादेबी छहरा गाउँपालिका २ दिग बस्ने ५८ वर्षीय नर बहादुर राना सोही गाउँपालिका आरीमगैरास्थित कच्ची बाटो मुनी रुखको फेदमा बिहीबार मृत अवस्थामा फेला परेका छन्। गत शनिबार स्याङ्जास्थित दिदीको घरबाट आफ्नो घर फर्किएका उनी घरमा नपुगी हराएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो।
हिजो बुधबार देशभर सातजना मृत फेला परेका थिए।






















