Opens in a new tab

मौसम

देशका अधिकांश स्थानमा बदली केही भागमा वर्षा र हिमपातको सम्भावना

जगत ठाडा मगर
२०७८ माघ २५ | बिहान ०६:१० बजे

काठमाडौं । वाग्मती प्रदेशसहित देशका धेरै स्थानमा आज मौसममा बदली हुने भएको छ । आज दिउँसो प्रदेश–१, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहनेछ ।

प्रदेश–१ का एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने छ भने अन्य प्रदेशमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।

पूर्वी तथा पश्चिमी भू–भागका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ । तराई भू–भागमा बिहानपख हुस्सु र कुहिरो लाग्ने सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

उच्च पहाड र हिमाली भेगमा केहीदिनको लगातारको हिमपात र अन्य क्षेत्रमा वर्षापछि तीन दिनदेखि मौसम सामान्यतया सफा रहेपनि चिसो भने उल्लेख्य मात्रामा घटेको छैन । यद्यपि, अब क्रमशः चिसो कम हुँदै जाने मौसमविद् निराजन सापकोटा बताउँछन् ।

“अब बदली कम हुने र घाम लाग्दै जाँदा क्रमशः दिन तात्दै जान्छ,” मौसमविद् सापकोटा भन्छन्, “न्यूनतम तापक्रम केही दिन तल रहे पनि अधिकतम तापक्रम बढ्दै जाँदा दिन तात्दै जान्छ ।” उनका अनुसार बिहानको समयमा दिन तापक्रम न्यून भए पनि दिउँसो घाम लागेपछि उच्चतम तापक्रम भने बढ्दै जान्छ ।

कमेन्टहरु