Opens in a new tab

देश

तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा दिइँदै

जगत ठाडा मगर
२०७८ माघ १७ | बिहान ०८:१० बजे

तनहुँ । तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ। यसअगाडी नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो। जिल्लामा गत पुस ८ देखि १३ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा दिइएको थियो।

व्यास नगरपालिकाले आजदेखि २० गतेसम्म विद्यालयमै खोप अभियान सञ्चालन गर्न लागेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए। यसक्रममा हालसम्म एक पटक पनि खोप नलगाएका बालबालिकालाई पनि खोप लगाइने उनले बताए।

१४ वटै वडामा रहेका विद्यालयमा खोप अभियान सञ्चालन गरिनेछ। शुक्लागण्डकी नगरपालिकाले यही माघ १७ र १८ गते स्वास्थ्य संस्था मार्फत् बालबालिकालाई खोप दिन लागेको छ। १२ वटै वडामा रहेको विद्यालय, स्वास्थ्यचौकी र आधारभूत स्वास्थ्य केन्द्रमार्फत् बालबालिकालाई खोप लगाइने स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिए।

स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका दशवटै स्थानीय तहका ३२ हजार चार सय ३७ बालबालिकालाई सो खोपको पहिलो मात्रा लगाइएको छ। भानुका तीन हजार दुई सय २०, व्यासका नौ हजार पाँच सय दुई, म्याग्देका एक हजार चार सय ७१, शुक्लागण्डकीका पाँच हजार सात सय ८८, भिमादका दुई हजार आठ सय ७९, घिरिङका एक हजार तीन सय १८, ऋषिङका दुई हजार ८७, देवघाटका एक हजार पाँच सय ४४, बन्दीपुरका दुई हजार ५३ र आँबुखैरेनीका दुई हजार पाँच सय ७५ ले पहिलो मात्रा लगाएका छन्।

कमेन्टहरु